
पालुङटारका महिला उद्यमीलाई मेसिनरी सामग्री वितरण
सिलाइ कटाई तालिम लिएर व्यवसाय संचालन गरेका पालुङटार नगरपालिका वडा नम्वर ७ का महिलाहरुलाई मेसिनरी सामग्री वितरण गरिएको छ । नगरपालिकाको समन्वय, लुथरन वल्र्ड रिलिफको साझेदारी तथा सहमति नामक संस्थाको सहयोगमा सामग्री वितरण भएको हो ।
विपद उत्थानशिल युवा तथा महिला उद्यमी परियोजना अन्तरगत तीन लाख बराबरको सामग्री वितरण गरिएको सहमतिका परियोजना संयोजक शिव सुवेदीले बताए । ‘त्यस वडामा सिलाइ कटाइको आधारभूत तालिम लिनुभएका २१ जना महिलालाई गत दशैमा हामीले ६५ दिने एड्भान्स तालिम दिएका थियौ,’ उनले भने, ‘त्यही बेला व्यवसाय संचालन गर्नुभयो भने आवश्यक मेसीनरी सामग्री सहयोग गर्छाै भनेका पनि थियौ । त्यही बमोजिम आज उहाहरुलाई सामग्री वितरण गरेका हौ ।’
पसल संचालनका लागी आवश्यक इन्टरलक मेसिन, सिलाइ मेसिन, पसलको साइनबोर्ड लगायतका सामग्री वितरण गरिएको उनले जानकारी दिए । सोमवार एक कार्यक्रमका बीच उक्त सामग्री तालिमका सहभागीहरुलाई हस्तान्तरण गरिएको हो ।
वडाध्यक्ष अर्जुनबहादुर कुमालको अध्यक्षता तथा नगर प्रमुख विवश चिन्तनको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख बन्दना पाण्डे, वडाध्यक्ष अर्जुनबहादुर कुमाल, उद्यमी भगवती कुमाल, मनासु महतो लगायतले मन्तव्य राखेका थिए ।




