| मङ्लबार, कार्तिक २४, २०८३

लक्ष्मी माविका संस्थापक यमप्रसाद कोइरालाको सालिक अनावरण

गोरखाकै जेठोमध्यको लक्ष्मी मावि गाईखुरका संस्थापक प्रधानाध्यापक यमप्रसाद कोइरालाको सालिक अनावरण गरिएको छ । पालुङ्टार नगरपालिका ६ गाईखुरस्थित सो विद्यालयको प्रांगणमा निर्माण गरिएको कोइरालाको सालिक उनकै सुपुत्र पूर्व उर्जा सचिव हरिराम कोइरालाले अनावरण गरेका हुन् ।

विद्यालयको ७१ औं वार्षिकोत्सव समारोहका अवसरमा विद्युत प्राधिकरणका पूर्व अध्यक्ष समेत रहेका कोइरालाले विद्यालयका संस्थापक तथा आफ्ना पिता कोइरालाको सालिक अनावरण गरेका हुन् । कोइरालाले वि.सं. २००९ सालमा तत्कालीन बन्दीपुरमा सञ्चालित लक्ष्मी आधार स्कूललाई गाईखुरमा ल्याई सञ्चालन गरेका थिए । ७१ बर्षअघि वरिपरि कतै पनि विद्यालय नभएको अबस्थामा गाईखुरमा विद्यालय ल्याएर सञ्चालन गरेकोमा सम्मानस्वरुप विद्यालयमा सालिक निर्माण गरिएको प्रधानाध्यापक राजन भट्टराईले जानकारी दिए ।

साथै सोही अवसरमा विद्यालय प्रांगणमा निर्माण गरिएको सरस्वतीको मूर्तिको पनि नगरपालिकाका प्रमुख विवश चिन्तनले अनावरण गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा विद्यालयका संस्थापक कार्यालय सहयोगी नाति श्रेष्ठलाई पनि सम्मान गरिएको छ । नगरप्रमुख विवश चिन्तनले दोसल्ला ओढाएर र प्रसंसापत्र प्रदान गरी सम्मान गरिएको प्रधानाध्यापक भट्टराईले जानकारी दिए । साथै सोही अवसरमा सो विद्यालयमा यसअघि पढाएर निवृत्त भएका तथा सरुवा भई गएका शिक्षक कर्मचारीलाई पनि सम्मान गरिएको उनले बताए ।

सो अवसरमा नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो । कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडाअध्यक्ष भेजराज पाण्डे, अर्का वडाअध्यक्ष चेतबहादुर गुरुङ, पूर्व सचिव हरिराम कोइराला, मेयर विवश चिन्तन लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्