
गोरखाको रानीपोखरी परिसरमा हाट बजार संचालन हुने
गोरखा सदरमुकामको रानीपोखरी परिसरमा हाट बजार संचालन हुने भएको छ । गोरखा नगरपालिकाले फागुन २६ गतेबाट हाट बजार संचालन गर्न लागेको हो । सोमवार बसेको नगर कार्यपालिका बैठकले सो निर्णय गरेको नगर प्रमुख कृष्ण रानाले बताए ।
‘त्यहाँ रहेको चउरमा हप्ताको प्रत्येक शनिवार हाट बजार संचालन गर्छाै,’ उनले भने, ‘नगर क्षेत्रभित्रै उत्पादित कृषि उपजहरु लगेर त्यहाँ बेच्छौ ।’ कृषि उपज ढुवानीका लागी गाडी किन्ने तयारी समेत भइरहेको उनले जानकारी दिए । ‘किसानहरुको बारीमै गएर हामी उहाँहरुको उत्पादन किन्छौ र हाट बजारमा ल्याएर बेच्छौ । ढुवानी खर्च किसानलाई सकेसम्म निशुल्क गर्छाै सकिएन भने सहुलियत दरमा थोरै रकम लिन्छौ,’ उनले भने ।
हाट बजार संचालनका लागी यो बर्ष १५ लाख रकम विनियोजन भएको उनले जानकारी दिए । हाट बजार संचालनका लागी छिट्टै समिति गठन गरिने उनले बताए । हाट बजारले नगरक्षेत्रमा उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा सघाउ पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।




