
नियमित विषादी परीक्षणको माग गर्दै क्वारेण्टाइन कार्यालयमा किसान महासंघको धर्ना
गण्डकी प्रदेशमा भित्रने कृषि तथा पशुजन्य उत्पादनको नियमित विषादी परीक्षण गर्न माग गर्दै अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटिले धर्ना दिएको छ । नियमित परीक्षण हुन नसक्दा प्रदेशका किसानले विषादीयुक्त तरकारी र फलफूल सेवन गर्न बाध्य हुनुपरेको भन्दै महासंघले तनहुँको आँबुखैरेनीस्थित कृषि तथा पशु नियमन इकाई(क्वारेण्टाइन कार्यालय)मा आइतवार धर्ना दिएको हो ।
गण्डकी प्रदेशको भूमि ब्यवस्था, कृषि, सहकारी तथा गरीवि निवारण मन्त्रालय अन्तर्गतको सो कार्यालय प्रदेश भित्रने कृषि तथा पशुजन्य उत्पादनको परीक्षणका लागि स्थापना गरिएको हो । तर चार वर्षअघि स्थापना गरिएको उक्त कार्यालयको भुमिका कमजोर हुँदा प्रदेशभित्रिने कृषि तथा पशुजन्य खाद्यबस्तु विषादीयुक्त भएको अखिल नेपाल किसान महासंघ गण्डकीका अध्यक्ष गोवर्धन गौलीले बताए ।
प्रदेशको भूमि ब्यवस्था, कृषि, सहकारी तथा गरीवि निवारण मन्त्रालयले २०७६ सालको बैशाखमा सो कार्यालय स्थापना गरेको थियो । तर प्रदेश भित्रने कृषि तथा पशुजन्य सामग्रीको नियमित रुपमा परीक्षण नभएको, प्रयोगशालासमेत ब्यवस्थित हुन नसकेको महासंघले दाबी गरेको छ ।
कार्यालयमा ७ जना कर्मचारीको दरवन्दी रहेकोमा कृषि र पशुजन्य सामग्री परीक्षणका लागि महत्वपूर्ण मानिने प्राविधिक कर्मचारीको दरवन्दी रिक्त रहेको छ । कर्मचारीको अभाव र प्रयोगशाला ब्यवस्थित नहुँदा कृषि तथा पशुजन्य उत्पादनको विषादी लगायत परीक्षणको काम प्रभावकारी हुन नसकेको इकाईका कर्मचारीहरुले बताएका छन् ।
पशु चौपायामा हुन सक्ने सम्भावित संक्रमण परीक्षणका लागि कुनै पनि सामग्री उपलब्ध नरहेको कर्मचारीहरुको भनाई छ । त्यस्तै पशु चौपायामा हुन सक्ने सम्भावित संक्रमण परीक्षणका लागि ब्यवस्थित होल्डिङ सेन्टर र क्वारेन्टिनको अभाव रहेको आँबुखैरेनीस्थित कृषि तथा पशु नियमन इकाईका चिकित्सक डाक्टर अशोक भुसालले बताउनुभयो । धर्ना कार्यक्रममा किसान महासंघले किसानका समसामयिक माग समेटिएको २६ बुँदे ध्यानाकर्षणपत्र बारे पनि जानकारी गराएको छ ।




