
चौरासीमा तुलादान गरेको रकम गुरुकुललाई सहयोग
चौरासीपूजामा तुलादान गरिएको रकम गोरखा नगरपालिका वडा नम्वर ६ छहरेस्थित गोरक्षनाथ वैद्धिक गुरुकुललाई सहयोगस्वरुप प्रदान गरिएको छ ।
गण्डकी गाउँपालिका फुजेल स्थायी घर भई हाल गोरखा सदरमुकाम बस्दै आएका देवीप्रसाद र उनका धर्मपत्नी सितामाया तिवारीले आफ्नो चौरासी पुजामा तुलादान गर्दाको ३६ हजार रकम गुरुकुललाई सहयोग गरेका हुन् ।
मंगलवार स–परिवार सहित गुरुकुल पुगेर उनीहरुले ३६ हजार रकम बराबरको चेक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बोधप्रसाद अधिकारी र गुरुकुलका प्रधानाध्यापक इश्वरी उपाध्यायलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
‘बुवा र आमाको चौरासी पुजामा तुलादान गर्दाको ३६ हजार रकम थियो, त्यो रकम उहाँहरुले गुरुकुललाई सहयोग गर्ने भन्नुभयो, अनि आज गुरुकुलमै पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हौ,’ छोरा सीताराम तिवारीले भने ।
गुरुकुलमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी आर्थिक सहयोग गरिएको उनले जानकारी दिए । गुरुकुलमा हाल १८ जना बिद्यार्थी आवासिय सुविधासहित अध्ययनरत छन् ।




