| मङ्लबार, कार्तिक २४, २०८३

आँबुखैरेनी गाउँपालिकाद्वारा १३ जनालाई लालपूर्जा वितरण

तनहुँको आँबुखैरेनी गाउँपालिकाले भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाको लालपूर्जा वितरण कार्य आरम्भ गरेको छ । सोमबार गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर जिल्लामै पहिलो पटक लालपूर्जा वितरण कार्य आरम्भ गरेको हो ।

पहिलो दिन गाउँपालिकाले वडा नं. २ का १३ घर सुकुम्बासीलाई लालपूर्जा वितरण गरेको छ । गाउँपालिकाले राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सांसद हरि चुमानले लालपूर्जा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै चुमानले पालिकाका अन्य वडाका भूमिहिनले पनि छिट्टै लालपूर्जा पाउने बताएका थिए । आयोगको गत पुस २३ को निर्णय अनुसार भूमिहिन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जिल्लाका अन्य पालिकामा पनि क्रमशः लालपूर्जा वितरणलाई अगाडि बढाइने बताए ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भूमिहीनलाई जग्गाको मालिक बनाउने अभियान सुरु भएको बताए । उनले भने, ‘हामीले चुनावका बेला नै लालपूर्जा वितरण गर्छौ भनेर जनतामाझ भनेका थियौ । त्यो प्रतिबद्धता पूरा गर्ने अभियान सुरु भएको छ । हामी आश्वासन दिँदैनौ, काम गरेर देखाउँछौ ।’

चुमानले क्रमिक रुपमा अरु वडाहरुको प्रक्रिया पूरा भएपछि पूर्जा वितरण गरिने बताए । उनले भने, ‘वर्षौँ भोगचलन गरेको जमिनको लालपूर्जा हात हातमा पुग्नु समृद्धिको आधार हो ।’
सोही अवसरमा भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोवासी सेवा केन्द्रमा रही अहोरात्र खटी उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सूचना प्रविधि अधिकृत÷सेवाकेन्द्र प्रमुख इन्जिनियर निरोज श्रेष्ठ, अमिन सरोज चन्द्र अधिकारी र अमिन सन्जित श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्