
हाम्रो सहारा फाउण्डेशनको कार्यक्रम बारे सार्वजनिकीकरण
अनाथ बालबालिकालाई आश्रय दिइरहेको हाम्रो सहारा फाउण्डेशनले बिहिबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गोरखा सदरमुकामको छिपिटोलमा बालगृह सञ्चालन गरिरहेको फाउण्डेशनले सार्वजनिक सुनुवाइमा संस्थाले गरेको कार्यक्रमहरुको बारेमा जानकारी गराएको थियो ।
संस्थाको सामाजिक परीक्षण गरेका काजीराम रोकाले कार्यक्रममा सहभागीहरुलाई बिगतदेखि सो संस्थाले गरेका कार्यक्रमको बारेमा अवगत गराएका थिए ।
संस्थाको बालआश्रममा आठ जना आश्रित छन् भने विभिन्न विद्यालयमा अध्ययनरत असहाय, संकटासन्न १५ जना बालबालिकालाई छात्रावृत्ति प्रदान गरिरहेको छ ।
दुईजना बालकलाई परिवारसंग पुनर्मिलन गराएको सो प्रतिवेदनमा उल्लेख छ ।
साथै हाम्रो सहारा फाउण्डेशनले लाप्राकका गोठालाहरुलाई रेडियो वितरण गरेको, स्वाँरा, केरौंजा, तीनखण्डेलगायत दर्जनौँ गाउँबस्तीमा गएर आवश्यकताका आधारमा खाद्यान्न, विपद्बाट जोगिने सामग्री तथा अन्य सहयोगी सामग्री वितरण गरेको बिषयमा प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगर, वडा नं. ७ की वडा सदस्य विभा रोका, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गोरखा नगरपालिकाकी सामाजिक विकास शाखाकी अधिकृत अम्बिका घिमिरे, लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




