
हाईड्रोपावरको सामान चोरेको आरोपमा दुई जना पक्राउ
गोरखामा क्रसरको उपकरण चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।
सिरानचोक गाउँपालिका वडा नं. १ केराबारीमा सञ्चालित चम्पावती हाईड्रोपावर कम्पनीले संचालन गरेको क्रसरको सामग्री चोरेको आरोपमा फरक फरक समयमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले बताए । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका वडा नं १ का ५२ वर्षीय झाँक्री कान्छा भनिने ललिराम सार्की र लमजुङ जिल्ला दूधपोखरी गाउँपालिका ५ का ४० वर्षीय पृथबहादुर घर्ती रहेका उनले बताए ।
गत असोज २० गते रातीको समयमा हाइड्रोपावरमा जडान गरिएको दुई थान मोटर चोरी भएको थियो । उक्त सामग्री सिरानचोक गाउँपालिका वडा नं.१ स्थित खाली धन्सारमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेका थिए ।
सो घटनामा संलग्न देखिएपछि सार्कीलाई आइतबार पक्राउ गरिएको हो । उनलाई सोमबार नै हिरासतमा राखी अदालतबाट म्याद थप गर्दै घटनाको थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।
लमजुङका घर्ती भने गत कार्तिक २८ गते नै पक्राउ परेको थिए । मंसिर १ गते घर्ती विरुद्ध चोरी कसूर शिर्षकमा मुद्धा दर्ता भएको थियो । जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




