| बुधबार, कार्तिक २५, २०८३

ल्हो गाउँमा निर्माण गरिएको छोर्तेन उद्घाटन

चुमनुब्री गाउँपालिका २ ल्हो गाउँमा हालै निर्माण सम्पन्न भएको छोर्तेनको उद्घाटन गरिएको छ । लामा सोनाम दोर्जे रिम्पोछेको सक्रियतामा निर्माण गरिएको छोर्तेनको तीन दिने कार्यक्रम गरी उद्घाटन गरिएको गाउँपालिकाका प्रमुख निमा लामाले जानकारी दिए ।

लामा सोनाम दोर्जे रिम्पोछे, सेराङ गुम्बाका प्रमुख लामा कर्मा मिङ्ग्यूर रिम्पोछे, रिपुम गुम्बाका औतारी(टुल्कु) र गाउँपालिकाका प्रमुख निमा लामाले संयुक्त रुपमा छोर्तेनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा लामा सोनाम दोर्जे रिम्पोछे, सेराङ गुम्बाका प्रमुख लामा कर्मा मिङ्ग्यूर रिम्पोछे र गाउँपालिकाका प्रमुख निमा लामाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो छ्योर्तेनमा गतबर्ष दिवंगत भएका रिपुम गुम्बाका प्रमुख लामा खेम्पो टासी छिरिङ रिम्पोटेको अस्तु पनि राखिएको छ । छोर्तेन उद्घाटनअघि रिपुम गुम्बामा र सो अस्तु राखिएको ठाउँमा वाङ(पूजा) पनि गरिएको थियो । सोनाम दोर्जे रिम्पोछेले देश, विदेशमा पूजा(वाङ) गरेर संकलन गरेको रकमले सो शान्तिस्तुपा निर्माण गरिएको हो । सात आठ महिना लगाएर छोर्तेन बनाइएको गाउँपालिकाका अध्यक्ष लामाले बताए ।

मन्तव्यका क्रममा लामा गुरु तथा गाउँपालिकाका प्रमुखले नुब्री उपत्यकालाई अहिंसाका संहिताहरु अझै कडाइका साथ पालना गरी अहिंसा उपत्यकाका रुपमा स्थापित गराउन सबैमा आग्रह गरेका थिए ।

छोर्तेन निर्माण गर्ने लामा सोनाम दोर्जे रिम्पोछे स्यालामा सञ्चालित ल्हो माध्यमिक विद्यालयका प्रमुख सहयोगी पनि हुन् । उनले स्यालामा विद्यालय भवन निर्माण, छात्रवास सञ्चालनमा योगदान गरिरहेका छन् । साथै बर्खाको छ महिना स्यालामा र हिउँदको छ महिना कोखेटारमा विद्यालय सञ्चालनको व्यवस्था गरेका छन् ।
तिब्बती भाषाको छोर्तेनलाई नेपाली भाषामा चैत्य तथा स्तुपा पनि भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्