
नक्कली कागजात बनाएको आरोपमा दुईजना पक्राउ
नक्कली श्रम स्वीकृती तथा अन्य कागजात पनि नक्कली बनाएर ठगी गरेको आरोपमा प्रहरीले गोरखाका दुईजना युवालाई पक्राउ गरेको छ ।
बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर ४ घर भई हाल काठमाडौ बस्दै आएका २३ बर्षीय अजित फेवाली र २१ बर्षीय बिपिन ढकाललाई मंगलवार दिउँसो पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरुले भिजिट भिसामा बिदेश जान लागेका सुजल हेङगजुको नाममा नक्कली श्रम स्वीकृति बनाएको भेटिएको प्रहरी उपरीक्षक मिलक केसीले बताए ।
उनीहरुलाई काठमाडौको सोल्टीमोडस्थित बैदेशिक रोजगार सम्बन्धी काम गर्ने ट्राभल्सको कार्यालयबाट पक्राउ गरिएको उनले जानकारी दिए । उक्त ट्राभल्सबाट ढकाल र फेवालीले प्रयोग गर्दै आएको एक÷एक थान मोवाइल र सिपियू एक थान बरामद गरिएको बताइएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको प्रहरी उपरीक्षक केसीले बताए ।




