
गोरखा दरौदी यातायातको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित आफ्नै कार्यालयमा शनिवार सभा भएको हो ।
कार्यक्रममा संचालक समितिका सदस्य शरदबाबु कट्टेलले संस्थाको बार्षिक प्रगति विवरण र संचालक समितिका सदस्य शरण गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आगामी वर्षको कार्ययोजनाहरु समेत प्रस्तुत गरिएको थियो । आगामी दिनमा बिभिन्न स्थानमा सेवा विस्तार गर्ने, सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने, यातायात व्यवसायीहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने, सवारी साधनलाई यात्रुमैत्री बनाउन विभिन्न अभियानहरु संचालन गर्ने योजना संस्थाको रहेको संचालक समितिका सदस्य गणेश बानियाँले बताए ।
प्रालिका अध्यक्ष नारायण खत्रीको अध्यक्षता तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष विजय बहादुर स्वारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।




