
सिरानचोकमा दशै मनाउन सुरु
नेपाली प्रचलित पात्रोहरुमा असोज २८ गते घटस्थापना छ । त्यसपछि दशैं मनाउन सुरु हुन्छ, तर पर्व सुधार भन्दै सिरानचोक गाउँपालिकाको केही स्थानमा दशैँ मनाउन सुरु भइसकेको छ ।
पर्व समय सुधार समाज गोरखा शाखाले प्रचलित पात्रोहरुमा उल्लेख गरिएको भन्दा एक महिनाअघि अर्थात गत भदौ ३० गते घटस्थापना गरेको छ । सिरानचोक गाउँपालिकाको मण्डली देवीथानमा औपचारिक रुपमा जमरा राखिसकेको पर्व सुधार समाजले जनाएको छ ।
शनिवार उनीहरुले सोही थानमा महाअष्टमी पूजा गरेका छन् । बलीसहित मौला पूजा गरिएको समाजकी जिल्ला अध्यक्ष तुलसा मरहट्टाले बताइन् । ‘खगोल विज्ञानलाई आधार मान्ने हो भने २४ घण्टाको एक दिन भनिए पनि ३ दशमलव २७ सेकेण्ड समय अपुग हुन्छ,’ उनले भनिन्, ‘दिनदिनै यति समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने भएकाले दशैँ एक महिना अघि सरेको हो ।’ असोज ८ गते विजया दशमीको टिका र जमरा लगाएर दशै मनाइने उनले जानकारी दिइन् ।
उनका अनुसार सो दिन पालिकाको वडा नम्वर १, २, ४ र ५ का बिभिन्न टोलमा सामूहिक रुपमा टिका र जमरा लगाएर दशैँ मनाइने कार्यक्रम तय भएको छ । समाजले बिगत बर्षहरुमा पनि साबिक दशैँभन्दा एकमहिना अघि नै दशैं मनाउने गरेको थियो । पर्व सुधार भन्दै उनीहरुले एक महिना अघि नै दशै मनाउन थालेका हुन




