
क्यान नेपालद्वारा चुम उपत्यकाको १० टोलमा अभिमुखीकरण सम्पन्न
कम्युनिटी एक्सन नेपाल(क्यान)ले चुम उपत्यकाका १० वटा टोलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । चुमनुब्री गाउँपालिका वडा नं. ६ का पाँचवटा टोल र ७ का पाँचवटा टोलका कृषक समूहलाई विभिन्न विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको सो संस्थाले जानकारी दिएको छ ।
चुम उपत्यकाअन्तरगत पर्ने साविक छेकम्पार र चुम्चेतको १० वटा टोलका १५० जनाभन्दा धेरैलाई विभिन्न विषयमा अभिमुखीकरण गराइएको क्यान नेपालका स्थानीय प्रतिनिधि छिरिङ लामाले जानकारी दिए ।
अभिमुखीकरणमा गाउँपालिकाले सेवाग्राहीलाई दिने सेवा, सेवाग्राहीले गाउँपालिकासंग पाउने सेवा र सेवा लिने विधिका बारेमा क्यान नेपालका प्रतिनिधिहरुले सहजीकरण गरेका थिए ।
वडा नं. ७ का तीनवटा कृषक समूहलाई कोपिला पन्त र छिरिङ लामा(बुर्जी) तथा तीनवटा टोलमा सरिता गुरुङ र छिरिङ लामा(बुर्जी)ले सहजीकरण गरेका थिए । वडा नं. ६ का पाँचवटा समूहलाई पनि स्थानीय क्यान नेपालका प्रतिनिधिले सहजीकरण गरेका क्यान नेपालले जनाएको छ ।
गाउँपालिकाले दिने सामाजिक सुरक्षा भत्ता लिने तरिका, कृषक समूहलाई पालिकाले गर्ने सहयोग लिने तरिका, जंगली जनावरबाट पशुचौपाया मारेमा एमक्यापले दिने क्षतिपूर्ति लिने तरिका इत्यादिका बारेमा सहजीकरण गरिएको थियो । साथै, कार्यक्रममा करेसाबारी तयार गर्ने तरिकाका बारेमा जानकारी गराउँदै विउ तथा विरुवा वितरण गरिएको थियो ।
तत्कालका लागि संस्थाले सहयोग गरेको भए पनि पछि निरन्तरता दिन पालिकाले सहयोग गर्ने बारेमा जानकारी गराइएको थियो ।
क्यानडेली संस्था सिएफएलआईको सहयोगबाट सञ्चालित सो कार्यक्रममा किन सिकार खेल्नु हुदैन, वन्यजन्तु किन संरक्षण गर्नुपर्छ, कसैले मारेमा के कारबाही हुन्छ भन्ने बारेमा पनि जानकारी गराइएको लामाले बताए ।
कम्युनिटी एक्शन नेपालले गाउँपालिकासंग समन्वय गरी वडा नं. ३ को दुई कृषि समूह, वडा नं. ६ को १० र वडा नं. ७ को १० गरी २२ वटा समूहलाई सहयोग गर्ने संस्थाका मुरारी गौतमले जानकारी दिए ।
संस्थाले गर्ने सहयोग आउँदो असोजदेखि नै सुरु गर्ने गौतमले जानकारी दिए ।




