
कृषकलाई कफीको विरुवा निशुल्क वितरण
गोरखाका कृषकहरुलाई कफीको विरुवा निशुल्क वितरण गरिएको छ ।
बृक्षारोपण पहल नेपाल नामक संस्थाको आर्थिक सहयोग तथा सर्भेसुलभ बहुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा विरुवा वितरण गरिएको हो । चार स्थानीय तहका सात हजार पाँच सय कफीको बिरुवा बितरण गरिएको बताइएको छ ।
विरुवा पाउनेमा बारपाक सुलिकोट, भीमसेन थापा, आरुघाट र धार्चे गाउँपालिकाका किसान रहेका छन् । गरिबी निबारणमा ‘कफी खेती २०८०’ लाई समृद्धि बर्षको रुपमा हेरिएको र सोही अनुसार निशुल्क रुपमा कफीको विरुवा वितरण गरिएको धार्चे गाउँपालिकाका निवर्तमान अध्यक्ष सन्तोष गुरुङले बताए ।
जिल्लालाई कफी जोन बनाउन र कफीमा आत्मनिर्भर बनाई निर्यात गर्न र केन्द्रिय कफी सहकारी संघको अभियानलाई साथ दिन समेत विरुवा वितरण भएको उनले जानकारी दिए । सहकारी सस्थाको समन्वयमा कफी हुने ठाउँमा थप नर्सरी स्थापना गर्ने र उत्पादित कफीलाई सहकारीले नै उचित मुल्यमा खरिद गरि बजारसम्म पु¥याउने लक्ष्य समेत रहेको बताइएको छ ।




