
दुई ट्रक एकआपसमा ठोक्किदा आगलागी, गोरखाका एक युवक सहित तीन जनाको मृत्यु
सवारी दुर्घटनामा परी गोरखाको गण्डकी गाउँपालिका–२ गोर्दीटारका सुमन चेपाङ सहित तीन जनाको मृत्यु भएको छ ।
ट्रकका सहचालक रहेका २१ बर्षिय चेपाङ सहित चितवन राप्ति ननगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ र मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने वर्ष २० का अमृत प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्वरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्वरको ट्रक शनिवार बिहान दुई बजे एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । ट्रक ठोक्किएपछि दुवै ट्रकमा आगलागी भएको थियो ।
हेटौंडाबाट दुई वटा दमकल बोलाएर आगो निभाएपनि निभाएपनि सवारी पूर्ण क्षति भएको डिएसपी टेकबहादुर कार्कीले बताए । उनका अनुसार दुर्घटनामा थप दुई जना घाइते भएका छन् ।




