
मनकामना जीप दुर्घटनाका सवारी चालक पक्राउ
गत असार ८ गते सहिदलखन गाउँपालिका ३ पात्लेखोलामा भएको जीप दुर्घटनामा संलग्न रहेका सवारी चालक पक्राउ परेका छन् ।
सहिद लखन–३ कोटगाउँबाट वडा नम्बर ५ को पोखरीडाँडा जन्ती लिएर फर्कंदै गरेको प्र ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट दुई सय ५० मिटरको भीरबाट खसेर दुर्घटना भएको थियो ।
जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । सोही जीप दुर्घटनामा संलग्न रहेका सहिदलखन गाउँपालिका वडा नं ३ का २६ वर्षीय दोषबहादुर थापालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले बताए । जीप दुर्घटनामा मृत्यु भएका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
उनीहरुविरुद्ध सवारी ज्यान कसूरमा मुद्धा दर्ता भएको हो । उनलाई बुधबार गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमति लिई उक्त घटनाको थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।
सो दुर्घटनामा सहिद लखन गाउँपालिका–५ पोखरीडाँडाका २२ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १८ वर्षीय निरज थापा, १७ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको थियो भने दुर्घटनामा १२ जना घाइते भएका थिए ।




