
गोरखामा अचार, जुस र जाम बनाउने तीन दिने तालिम सुरु
गोरखामा अचार बनाउने तीनदिनेतालिम सुरु भएको छ । ओमन चेम्बर अफ कमर्स गोरखाको आयोजना, गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा चेम्बर अफ कमर्स गोरखाको समन्वयमा आइतबारबाट अचार बनाउने तालिम सुरु गरिएको हो ।
तालिममा ओमन चेम्बर अफ कमर्समा आबद्ध १५ जना महिलाको सहभागिता रहेको छ । तालिममा प्रशिक्षक रेखा शर्मा चौधरीले आचार बनाउने सम्बन्धी प्रशिक्षण दिने बताएको छ । तीन दिने तालिममा आँप, करेला, मुला लगायत बजारमा पाइने सबै प्रकारका आचारको बनाउने तरिका सिकाइने ओमन चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष ज्ञानु अधिकारीले जानकारी दिइन् । उक्त अचारमा कुनै पनि केमिकल प्रयोग नहुने उनको भनाइ छ । अचारबाट महिलाहरुलाई व्यवसायिक रुपमा उद्यमी बन्नका लागि तालिम दिएको उनले बताइन् ।
त्यस्तै, ओमन चेम्बर अफ कमर्सले केहि दिनमा नै कोसेली घर संचालनमा ल्याउने तयारीमा समेत रहेको बताएको छ ।
कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले तालिममा सिकेको सिपलाई व्यवसायीमा उपयोग गरी सबै महिला उद्यमी बन्नुपर्नेमा जोड दिइन् ।
ओमन चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष ज्ञानु अधिकारीको अध्यक्षता तथा गोरखा नगरपालिकाका उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, ओमन चेम्बरका उपाध्यक्ष सविता प्रधान लगायतले कार्यक्रम मन्तव्य राखेका थिए ।




