
गोरखामा मगर भाषा प्रशिक्षक प्रशिक्षण सम्पन्न
गोरखामा मगर भाषाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर महिला संघ गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा शनिबार भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
बुधबारबाट सुरु भएको मगर भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो । भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी ३१ जनालाई नगरप्रमुख कृष्ण रानाबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
मगरको भाषा, संस्कृतिको संरक्षणका लागि प्रशिक्षक तयार गर्न प्रशिक्षक प्रशिक्षण तालिम दिएको नेपाल मगर महिला संघ गोरखाकी सचिव सावित्रा थापामगरले जानकारी दिइन् ।
उनका अनुसार चार दिनको अवधिमा मगर जातिको इतिहास, मगर भाषा, साहित्यको इतिहास र विकासक्रम, मगर भाषाको वर्णमाला, मगर भाषा र संस्कृतिमा अभिवादन र व्याकरणीय शब्दहरुको बारेमा जानकारी गराएको थियो ।
त्यस्तै, मगर भाषाका व्याकरण, वाक्य संरचना, मगर भाषाको पाठ्यक्रम, मगर भाषाको शिक्षण विधिहरु, लिपि विकास, मगर भाषा लेखनमा प्रयोग गरिएका लिपिहरु लगायतका बारेमा प्रशिक्षण दिएको उनले जानकारी दिइन् । तालिममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. विष्णुकुमार सिन्जाली मगरले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा गोरखा नगरपालिकाका भित्रका १४ वटा वडाबाट २५ जना भन्दा धेरै जनाको सहभागिता रहेको थियो । सहभागी सबैलाई प्रमाण पत्र समेत प्रदान गरिएको केन्द्रीय सदस्य राना मगरले बताए । मगर भाषा बोल्न सक्ने र भाषा सिक्न इच्छुक भएका व्यक्तिहरुलाई तालिम सहभागी गराएको थियो ।
नेपाल मगर महिला संघ गोरखाका अध्यक्ष पवित्रा थापा मगरको अध्यक्षता तथा गोरखा नगरपालिका नगरप्रमुख कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षक विष्णु कुमार सिन्जाली मगर, नेपाल मगर संघ गोरखाका सचिव भरत आले मगर, नेपाल मगर संघका केन्द्रीय सदस्य विष्णु रानामगर, नेपाल मगर महिला संघ गोरखाकी सचिव सवित्रा थापा मगर लगायतको उपस्थिति रहेको थियो ।




