| बुधबार, कार्तिक २५, २०८३

अनाधिकृत क्यालेण्डर प्रयोग नगर्न प्रशासन कार्यालयको आग्रह

अनाधिकृत क्यालेण्डर प्रयोगमा नल्याउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । विभिन्न कार्यालयहरुले अनाधिकृत रुपमा प्रकाशन गरेका क्यालेण्डरले भ्रम सिर्जना गर्न सक्ने हुँदा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै त्यस्ता क्यालेण्डर वितरण नगर्न र प्रयोग नगर्न आग्रह गरेको हो ।

प्रशासनले सो सूचनामा क्यालेण्डर प्रकाशन गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट विधिवत रुपमा स्वीकृति लिनुपर्ने अनिवार्य गरेको छ । विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले जारी गरेको सूचनामा सार्वजनिक विदासम्बन्धी तथा अन्य विभिन्न पक्षमा गल्ती हुन सक्ने भन्दै त्यसलाई व्यवस्थित बनाउन यस्तो आग्रह गरेको हो ।

सार्वजनिक विदाका सम्वन्धमा निर्णय लिँदा नेपाल सरकार मन्त्रीपरिषदले नेपाल पञ्चाङ्ग निर्णायक समितिले तयार गरेर उपलब्ध गराएको तथ्यलाई आधार बनाएको तथा तिथि, मिति, बार, नक्षत्र, योग, करण, ग्रह स्थिति, ग्रह उदय र अस्त, बक्र तथा मार्गीको अवस्था, चाडपर्व, मुहूर्त, लगत, साइत आदि विवरण उल्लेख भएको पुस्तिका तयार गरी प्रकाशन र बिक्री वितरण गर्ने गराउने जिम्मेवारी समेत नेपाल पाञ्चाङ्ग निर्णायक समितिलाई रहेको छ ।

उक्त समितिको आन्तरिक ब्यवस्थापन दिग्दर्शन, २०७९ मा पञ्चाङ्ग तथा पात्रो भित्तेपात्रो, गोजीपात्रो समेत प्रकाशन गर्न चाहने ब्यक्ति, संघ संस्था तथा समुदायले उक्त समितिको स्वीकृति लिनुपर्ने ब्यवस्था रहेकोले अनाधिकृत रुपमा स्वीकृति नलिई छापिएका भित्तेपात्रो प्रयोग नगर्न÷नगराउन जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्