
मनकामनादेखि गोरखकालीसम्म पदयात्रा सम्पन्न
रोटरी क्लव अफ गोरखाद्वारा आयोजित मनकामना मन्दिरबाट गोरखकाली मन्दिरसम्मको पदयात्रा शनिबार सम्पन्न भएको छ । धार्मिक तथा पर्यापर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले रोटरी क्लव अफ गोरखाको आयोजना तथा शहिदलखन गाउँपालिका र गोरखा नगरपालिकाको सहयोगमा क्लवमा आवद्ध पदाधिकारीले शुक्रबार मनकामना मन्दिरबाट पदयात्रा सुरु गरेका थिए ।
शुक्रबार विहान मनकामना मन्दिरबाट सुरु भएको पदयात्रा शनिबार बेलुका पाँच बजे गोरखकाली मन्दिरको हनुमानभज्याङमा समापन भएको रोटरी क्लव अफ गोरखाका अध्यक्ष कृष्ण ढकालले बताए । सो क्रममा गोरखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिलिप जोशी, रोटरी क्लव अफ गोरखाका संस्थापक अध्यक्ष शितलकाजी मास्के लगायतको स्वागत गरेका थिए ।
पदयात्राको पहिलो दिन मनकामना मन्दिरबाट बक्रेश्वरी मन्दिर, सिद्ध लखन गुफा, लखन भ्युट टावर हुदै शुक्रबार वडा नं ६ स्थित कोटथोक गाउँमा रहेको होमस्टेमा बास बसेका थिए । दोस्रोदिन कोटथोकबाट विहान ६ बजेबाट वडा नं ७ बुङ्कोटमा रहेको काउले भँगार(विद्रोही किल्ला), ढुङ्गागाढे हुदै उकाले चढ्दै गोरखकाली दरबार आइपुगेको उनले जानकारी दिए । पदयात्रामा क्लवका पदाधिकारी, जनप्रतिनिधि गरी १८ जना सहभागी छन् ।
क्लवको तेस्रो पटक पदयात्रा गरेको हो । पहिलेको तुलनामा अहिले बाटो एकदम राम्रो रहेको र बाटोमा ठाउँठाउँमा होमस्टे, होटल लगायतको व्यवस्था रहेको उनले जानकारी दिए । उनका अनुसार मनकामना मन्दिरमा आउने धार्मिक पर्यटकहरुलाई गोरखकाली मन्दिरसम्म ल्याउन पदयात्रा गरिएको हो । वार्षिक रुपमा मनकामना आउने १० प्रतिशत पर्यटक गोरखकालीमा ल्याउन सके यहाँको आन्तरिक पर्यटन प्रर्वद्धनमा समेत धेरै सहयोग पुग्ने उनले बताए ।




