
गण्डकीको बुट्टार जिपलाइनमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार गण्डकी गाउँपालिका १ बुट्टारमा रहेको जिपलाईन यात्राको अनुभव लिएका छन् ।
साहसिक खेलका रुपमा परिचित जिपलाइनमा श्रेष्ठसँगै पुर्व सांसद हरिराज अधिकारीले पनि जीप लाइनको अनुभव लिएका थिए ।

५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशूली नदी माथि पर्ने कारण झनै सहासिक र रोमान्चक हुने रिभर फन बीच रिसोर्ट प्रालिका प्रवन्ध निर्देशक शंकर अधिकारीले बताए । अधिकारी दुई दशकदेखि ¥याफ्टिङ लगायत एड्भेन्चर ब्यवसायमा आवद्ध छन् ।
पृथ्वीराजमार्ग छेउको चुमखोलाबाट रिभरफन रिसोर्टसम्म पुग्ने गरी छ करोड ५० लाख रुपैयाँमा जिपलाईन संचालनमा ल्याएको हो ।
नदी माथिको रोमान्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमूना हुने उनको भनाइ छ ।
जिपलाइन खेल्न प्रति ब्यक्ती नेपालीका लागि १ हजार रुपैयाँ र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने छ । फोटो भिडियोको अतिरिक्त ५ सय लाग्नेछ ।

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइनमा दुई समानान्तर रोप रहेकाले दुईजना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए ।
उक्त कम्पनीले ९ वर्षदेखि रिसोर्ट र ¥याफ्टिङ व्यवसाय संचालन गर्दै आएको छ । आन्तरिक र बाह्य पर्यटक त्रिशुलीमा ¥याफ्टिङका लागि आउने गर्छन । मुख्य सिजनका बेला रिसोर्ट खचाखच हुने गरेको छ । जिपलाईन पृथ्वीराजमार्ग छेउमा रहेकाले चितवन, पोखरा, बन्दिपुर, मनकामना लगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाईमा पर्ने गरेको अधिकारी बताउँछन् ।




