
गोरखाका २६ जना उद्यमीहरुलाई अनुदानमा सामग्री बितरण
पर्यटन तथा उद्योग कार्यालय गोरखाले २६ जना उद्यमीहरुलाई उपकरण प्रदान गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय गोरखाको चालुवर्ष स्वीकृत कार्यक्रमअनुसार सामग्री बितरण गरिएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए ।
दलित बिपन्न तथा परम्परागत सीप भएकाहरुको ब्यवशायिक विकासका उपकरण तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत १२ जनालाई र संचालित उद्योगको प्रवृद्धनकालागि साझेदारीमा उद्यमीहरुलाई उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत १७ जनालाई अनुदानमा सामग्री बितरण गरिएको हो ।
दलित बिपन्न तथा परम्परागत सिप अन्तरगत ९० प्रतिशत र उद्योग प्रर्वद्धनकालागि १० प्रतिशत अनुदानमा सामग्रीहरु बितरण गरिएको कार्यालय प्रमुख भुजेलले बताए । ‘यी सामग्रीले उद्यमीहरुलाई ब्यवशायमा थप राहत पुग्ने अपेक्षा कार्यालयको छ’, उनले भने ।
आईतवार कार्यालयमा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले उद्यमीहरुलाई सामग्री बितरण गरेका हुन् ।
१४ थान डिजिटल सिलाई मेसिन, दुई वटा ठूलो चाँप कटर, एउटा सानो चाँप कटर, तीनवटा कम्बाईन मिल, एउटा ब्याट्री र इन्भटर सेट, सर्कुलर र ड्रिल मेसिन, डिफ्रिज, नेपाली हाते कागज बनाउन प्रयोग हुने दुईसय ५० थान काठको फ्रेम लगायतका सामग्री बितरण गरिएको थियो ।
दुबै कार्यक्रममा गरी ३८ जनाले निवेदन दिएका थिए । पर्यटन तथा उद्योग कार्यालयका प्रमुख सुर्य भुजेलको अध्यक्षता र गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बतावरण मन्त्री रेशमबहादुर जुग्जालीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, लाभग्राही उद्यमी नेत्रबहादुर बस्ताकोटी लगायतले मन्तब्य राखेका थिए ।




