
ढाका बुनाई तथा वारपिङ भर्ने एक हप्ते पुनर्ताजगी तालिम सम्पन्न
गोरखा नगरपालिका वडा नं ८ मा संचालित ढाका बुनाई तथा वारपिङ्ग भर्ने एक हप्ते पुनर्ताजगी तालिमको सम्पन्न भएको छ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गोरखाकाली हस्तकला उद्योगको आयोजनामा संचालन भएको तालिम विहिबार एक कार्यक्रमबीच तालिम समापनि गरिएको हो ।
गोरखकाली हस्तकला उद्योगमा संचालन हुने एक हप्ते पुनर्ताजगी तालिममा नगरपालिकाभित्रका १५ जना महिलाहरुको सहभागिता रहेको थियो । महिला दिदी बहिनीहरुलाई सिपको आवश्यकता रहेको र उनीहरुले प्राप्त गरेको सिपलाई रोजगारीमा परिणत गरी आर्यआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम संचालन गरिएको गोरखकाली हस्तकला उद्योगका अध्यक्ष रिता रेग्मी अर्यालले बताइन् । महिलाहरुलाई सक्षम, सबल र आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गरिएको उनले जानकारी दिइन् ।
एक हप्ताको अवधिमा ढाका बुनाई, वारपिङ भर्ने लगायतका कुराहरु सिकाइएको गोरखकाली हस्तकला उद्योगकी सचिव सिर्जना पाण्डेले बताइन् । उनका अनुसार प्रशिक्षक मिरा तुम्बाहाम्फेले तालिम दिएकी थिइन् । प्रशिक्षक तुम्बाहाम्फेले समय दिएर हस्तकला क्षेत्रका काम गर्ने सके राम्रो आयआर्जन गर्न सक्ने बताइन् ।
उद्योगकी अध्यक्ष रिता रेग्मी अर्यालको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, प्रशिक्षार्थी रुकु थापामगर लगायतले मन्तव्य राखेका थिए ।




