| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका होटल तथा रेष्टुरेन्ट संचालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम

गोरखामा खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको आयोजनामा शुक्रबार जिल्लाभित्रका होमस्टे, होटल रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम भएको हो ।

अहिले सहर तथा गाउँमा अखाद्य पदार्थको प्रयोग बढिरहेको र विवाह, भोज लगायत विभिन्न कार्यक्रमहरुमा मानिसहरु विरामी पर्ने गरेको घटनाहरु बढ्दै गएकाले व्यवसायहरु सचेत रही ग्राहक स्वच्छ खाना प्रदान गर्नका लागि तालिम दिएको कार्यालय प्रमुख प्रशान्त पोखरेलले बताए ।

उनले होटल व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धी प्रस्तुतीकरण दिएका थिए । उक्त प्रस्तुतीकरणको क्रममा होटल तथा रेष्टुरेन्टको सरसफाई अवस्था, खाना बनाउने ठाउँ, खाना खुवाउने ठाउ तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको पर्याप्त व्यवस्था गरिएको, भान्छाकोठा, खान खुवाउने स्थानमा बसेर धुम्रपान गर्न निषेध गर्ने, पिउने पानीका लागि प्रशोधित तथा पिउनयोग्य पानी व्यवस्था मिलाउने बारेमा होटल व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै, कच्चा तथा तयारी खानेकुराहरुको लागि छुट्टाछुट्टै ठाउँ÷बोर्ड र भाडावर्तनहरुको व्यवस्था भएको हुनुपर्नेे, मासु, दुग्धपदार्थहरुलाई तापक्रम भण्डार गरी मिति तथा समय ठिकसँग लेबल लगाएको हुनुपर्ने, पेय पदार्थ र खानेकुराहरुलाई छोपेर जतिसक्दो चाँडो वा कुनै पनि हातलमा २ घण्टाभित्र ५ डिग्री सेल्सियको तापक्रम राखिएको हुनुपर्ने, रेफ्रिजेरेटर तथा फ्रिजहरु ठिक तापक्रममा चलिरहेको छन या छैन चेकजाँच गर्ने, खाद्य स्वच्छता र सरसफाईका बारेमा कर्मचारीहरुलाई पर्याप्त तालिम दिने र पकाएका, चिस्याइएका, भण्डारण गरिएका , पुन ः तताइएका र झिकेर खाने बस्तुहरुको तापक्रम तथा समयको अभिलेख हुनुपर्ने लगायतका बारेमा व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ तालिम आयोजना गरिएको कार्यालय खाद्य निरीक्षक सन्तोष मगरले बताए । कार्यक्रममा सहभागीहरुले गोरखामा खानेपानी केही समस्या रहेको बताएका थिए । एक दिन संचालन भएको तालिममा बजार क्षेत्रका होटल, रेष्टुरेन्ट, होमस्टे र क्यान्टिन संचालकहरु गरी ३५ जना भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्