| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइयो

आप्रवासी कामदार हकहित संरक्षण संजाल गोर्खाको आयोजनामा शनिबार गोरखामा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइएको छ । ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’, भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइएको हो ।

सप्ताहव्यापी रुपमा मनाइएको सो दिवस अन्तिम दिन शनिबार गोरखामा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया तथा वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारका बालबालिकाहरुको लागि शैक्षिक सामग्री वितरण गरी मनाइएको थियो ।
एकीकरण नेपालका सहसचिब यदुप्रसाद अधिकारीको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सामी कार्यक्रमका जिल्ला संयोजक चन्द्र देवकोटाले बैदेशिक रोजगारले देशको अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको बताउँदै ग्रामीण क्षेत्रको तल्लोस्तरसम्मका नागरिकहरुको गुजारा रेमिट्यान्सले धानेको बताउँदै उनले बैदेशिक रोजगारको क्रममा सीपमूलक र सुरक्षित रोजगारको सिर्जना गर्न सचेत बन्नुपर्ने बताए ।

कार्यक्रममा सामी कार्यक्रम र आप्रवासी कामदार हकहित संरक्षण संजालले संयुक्त रुपमा त्यस्ता अप्ठ्यारोमा परेका र विभिन्न कारणले सरकारले सहयोग गर्न नसकेका ४ जना बालबालिकालाई सो स्टेसनरी सामग्री वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्