| मङ्लबार, कार्तिक २४, २०८३

इन्सेकको वार्षिक प्रतिवेदनको पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गोरखाको वार्षिक प्रतिवेदनको पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शुक्रबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि संकलित घटनाहरुको वार्षिक पूर्व समिक्षा गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा २०२२ जुलाई २९ देखि डिसेम्बर २० सम्म गोरखा जिल्लाभित्र भएका मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाहरुका बारेमा छलफल भएको थियो । यो अवधिमा बालअधिकार, बलात्कार, बलात्कार प्रयास र यौन दुब्र्यवहार सम्बन्धी ५ वटा घटना भएको इन्सेक गोरखाका प्रतिनिधि हरिराम उप्रेतीले बताए ।

त्यस्तै, महिला अधिकार, बलात्कार, यौनदुव्र्यबहार सम्बन्धी ४ वटा घटना भएका छन् भने चिकित्सक माथि कुटपिट , प्रहरी माथि कुटपिट, निर्वाचन सम्बन्धी र बहुविवाहको एक÷एक घटना भएको उनले जानकारी दिए ।

गोरखामा मादक पदार्थ सेवन तथा आफन्तबाट नै मानव अधिकार तथा बलात्कारका घटनाहरु बढी हुने गरेको डिएसपी लिलाराज लामिछानेले बताए । त्यस्तै, गाउँघरमा धेरैलाई कानुन प्रक्रियाका बारेमा जानकारी नहुदा पनि धेरै घटना घटेको उनको भनाइ छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले मानव अधिकारको संरक्षण गर्न निरन्तर लागिपरेको बताए । गोरखामा मानव अधिकार उल्लंघनका घटनाहरु हुन नदिने गरी काम भइरहेको उनले बताए ।

मानव अधिकार सञ्जाल गोरखाका संयोजक यदु अधिकारीले प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र र राहदानी बनाउदा नागरिकले धेरै दुख पाएको बताएका थिए । जनतालाई प्रवाह गर्ने सेवा सुविधालाई प्रशासनले आवश्यक पुर्वाधार र कर्मचारी थप गर्दै व्यवस्थित गर्दै लैजानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्