
गण्डकी प्रदेश उर्जामन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम २०६८ जेठ २९ मा गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीको सिफारिसमा हेरफेर गरी कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन अनुसार यस अघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हरिशरण आचार्य हालको मन्त्रिपरिषद्मा रहेको छैन । उनले सम्हालेको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै राखिएको छ ।
आचार्यले गोरखामा गठबन्धन विरुद्ध चुनावी प्रचारप्रसार गरेको भन्दै बखास्त गरिएको हो । गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन् । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ ।
यसअघि बिना विभागीयमन्त्रीमा नियुक्त भएका आचार्यले असार ११ मा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनी गत निर्वाचनमा गोरखा जिल्लाबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा विजयी बनेका थिए । अहिलेको निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका आचार्यले पछि उम्मेदवारी फिर्ता लिएका थिए ।
अन्य मन्त्रालयको जिम्मेवारी भने पूर्ववत् मन्त्रीहरूकै जिम्मामा रहेको छ ।




