
किन दिँदैछन् चिनलाई एकसिंगे गैंडा ?
चीनलाई उपहार स्वरुप दिन लागिएको दुर्लभ एकसिंगे गैंडाको एक जोडी बच्चा ‘रुपसी’ र ‘भद्र’लाई चितवनबाट असार २६ मा काठमाडौं पठाइने भएको छ। सडकमा हुने विभिन्न अवरोधले समस्या हुनसक्ने भएकाले चीन पठाउने मितिको दुई दिनअघि नै काठमाडौं पठाउने तयारी गरिएको हो। रुपसी र भद्रलाई असार २८ मा चीन पठाउने तयारी छ।
२७ गते मात्र चितवनबाट पठाउँदा बाटोमा कुनै अवरोध सिर्जना भएमा समयमा नपुग्ने खतरा हुन्छ। त्यसैले दुई दिनअघि नै काठमाडौं पुर्याउन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए। उनका अनुसार मुग्लिन सडकमा जोखिम हुने भएकाले यस्तो तयारी गरिएको हो। गैंडालाई काठमाडौं पठाउन चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिहरु तीव्र तयारीमा छन्। दुई जोडी गैंडा राष्ट्रिय प्रकृति संरक्षण कोषको निगरानीमा कोषकै प्राङ्गणमा बनाइएको पिट बोमा(सानो खोर)मा राखिएको छ। दुई जोडीमध्ये नामाकरण भएको एक जोडीलाई पहिलो चरणमा चीन पठाउन लागिएको हो।
‘आवश्यक सबै तयारी भैसक्यो, दुई वटा खोर, ट्रक, चिकित्सक, वन्यजन्तु प्राविधिज्ञ सबै तयार छन्,’ चितवन राष्ट्रिय निकुञ्जका पमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भने, ‘चितवनबाट पठाउने कामको लगभग सबै तयारी पुराभयो भन्दा हुन्छ।’ अहिले गैंडाको नेपाल र चीनका पशु चिकित्सक र संरक्षणकर्मीहरुले निगरानी र स्वास्थ्य परीक्षण गरिरहेका छन्। चीनका पशु क्वारेन्टाइन र सफारी पार्कका संरक्षणकर्मीसहितको चार जनाको चिनियाँ टोली अहिले सौराहामा छ। पहिलो चरणमा असार २८ मा चीन पठाउने तयारी गरिएको एक जोडी गैंडामध्ये भाले गैंडाको नाम ‘भद्र’ र पोथी गैंडाको नाम ‘रुपसी’ राखिएको छ। ती गैंडालाई सौराहामा कार्यक्रम नै गरेर बिदाइ गर्ने तयारी चितवन राष्ट्रिय निकुञ्जको छ। बिदाईपछि असार २६ दिउँसो काठमाडौ पठाइने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले जानकारी दिए। गैंडालाई चितवन निकुञ्जका कर्मचारी र संरक्षण सुरक्षामा खटिएका नेपाली सेनाले स्कटिङ गर्नेछन्। काठमाडौबाट भने गैंडालाई हवाइजहाजमा चीन पठाइने छ।
गत बैशाखमा चितवन निकुञ्जको पश्चिम सेक्टरबाट तीन वटा गैंडालाई नियन्त्रणमा लिएर सौराहामा राखिएको छ। अर्काे एउटा गैंडा भने भारतबाट उद्धार गरी ल्याइएको थियो। अहिले ती गैडालाई दूध, बन्दा र फलफूलको मात्रा मिलाएर खुवाउने गरिएको छ। पहिले जंगलबाट डाट गरेर ल्याएको गैंडा अहिले मानिससँग लहसिने थालेका छन्। जसका कारण खोरमा हालेर लैजान कुनै सकस नहुने निकुञ्जको भनाइ छ। चीन पठाउँदा गैंडासँगै नेपालका विशेषज्ञ टोली, पशु चिकित्सक र संरक्षणकर्मीहरु समेत जाने छन् । गैंडाकाल लागि चाहिने खानेकुरा तथा स्याहारसुसारका आवश्यक प्रक्रिया समेत ती टोलीले प्रशिक्षित पारेर फर्कने छन्। सरकारले २०७३ असार २६ मा चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो। नेपालले अहिलेसम्म विभिन्न देशमा गरेर करिब ३० वटा गैंडा उपहार दिइसकेको छ। विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ। नेपालमा पछिल्लो गणनामा दुर्लभ एकसिंगे गैंडा ६४५ वटा रहेका छन्।




