
चुमनुब्रीका प्रतिनिधिमण्डल र प्रजिअ बीच अन्तरक्रिया
दरौँदी ः जिल्लाको अतिबिकट गाउँपालिका को रुपमा रहेको चुमनुब्री गाउँ पालिकाका प्रतिनिधिहरुले बिहिबार प्रमुख जिल्ला अधिकारीसमक्ष भेट गरी अन्तरक्रिया गरेका छन् । उत्तरी गोरखाका सामाजिक अभियन्ता निमा लामाको नेतृत्वमा गएको सो टोलीले
गाउँलेले भोग्नु परेको समस्याको बारेमा अवगत गराएको थियो । स्थानीय तह गठन भएको एकबर्ष बितिसक्दा पनि कर्मचारी अभावका कारण सेवाग्राहीले भोग्नु परेको समस्याको बारेमा सो क्रममा जानकारी गराइएको थियो । त्यस्तै चुम्चेत, बिही र ल्होमा प्रहरी चौकी स्वीकृति पाएर पनि प्रहरी नहुँदा शान्ति सुरक्षाको अबस्था सन्तोषजनक हुन नसकेको बारे पनि समस्या राखिएको चुमकल्याण समितिका अध्यक्ष समेत रहेका लामाले बताए ।
छलफलको क्रममा स्थानीयबासीले पर्यटक पथप्रदर्शकले संवेदनशील मानिने तिब्बतको सीमाना नजिक पर्यटक घुमाउन लाने गरेको बारे पनि गुनासो गरेका थिए । निषेधित क्षेत्र भएकाले चुमनुब्रीमा बिरामी वा घाइते भएकालाई आकस्मिक उद्धार गर्न हेलिकोप्टर उडाउन समस्या हुने गरेको बारे पनि उनीहरुले बताएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधि कारी नारायण भट्टराईले अबको एक महिनाभित्र कर्मचारी पदपूर्ति हुने आश्वासन दिएका थिए । त्यस्तै घुम्ती शिविर सञ्चालन गरेर भए पनि नागरिकता नपाएकाहरुलाई नागरिकता बताइदिने पनि प्रतिवद्धता ब्यक्त गरेका थिए ।
सो क्रममा प्रजिअ भट्टराईले उत्तरी गोरखाका बिभिन्न सार्बजानिक तथा नीजि जग्गामा गाँजाखेती रहेकाले त्यसलाई नष्ट गर्न आग्रह गरेका थिए । ‘स्थानीयबासीले आफै प्रहरी बनेर गाँजाखेती नष्ट गर्न मैले आग्रह गरेको छु’ प्रजिअ भट्टराईले भने, ‘कतिपय अबस्थामा सर्बसाधारणले पनि बर्दी बिनाका प्रहरीको भूमिका निर्बाह गर्नुपर्छ भनेर सम्झाएको छु ।’ हेलिकोप्टरको बिषयमा कुनै समस्या परेमा आफूसंग सम्पर्क गर्न आग्रह गरेको पनि उनले बताए ।
सो क्रममा प्रजिअ भट्टराईले नेपाल तिब्बतको सीमानामा बिओपी(बोर्डर अपरेटिङ पोष्ट) राख्ने गृहकार्य भइरहेको बारे पनि
जानकारी गराएका थिए । प्रतिनिधिमण्डलमा चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङ, वडा नं. ६ का वडाअध्यक्ष लोप्साङ लामा र ७ का वडाअध्यक्ष
पासाङ फुञ्जो लामा, दुवै वडाका वडा सदस्यहरु लगायतका सहभागी थिए ।




