बर्खाको संकट टार्न तयारी रहन आव्हान
दरौंदी ः जिल्ला विपद व्यबस्थापन समिति माताहतको विपद जोखिम न्यूनिकरण एवं विपद व्यवस्थापन संयन्त्रले नजिकिदै आएको बर्खाका बेला आइपर्न सक्ने सबैखाले संकट टार्ने अन्तिम तयारी गरेको छ । बुधबार बैठक बसी समितिले संवद्ध सरोकारवालाहरुलाई जस्तो सुकै परिस्थितिमा पनि संकट आएमा सो समाधानका लागि जुट्ने निर्णय गरेको छ ।
विपद मोचनका लागि जिल्लामा जनशक्तिलाई तयारी अबस्थामा राख्ने निर्णय गरेको छ । त्यस्तै विपदका बेला आवश्यक पर्ने उपकरणहरुलाई तयारी अबस्थामा राख्ने पनि निर्णय गरेको संयन्त्रका गौतम भण्डारीले जानकारी दिए ।
बिपतमा परेकालाई उपलब्ध गराउन खाद्य तथा गैरखाद्य सामग्रीलाई पनि तयारी अबस्थामा राख्ने निर्णय बैठकले गरेको भण्डारीले बताए ।
विपदमा परेकालाई उद्धार गर्ने दक्ष जनशक्ति कति जना हुनसक्ने, विपदमा परेकालाई उपलब्ध गराउन सकिने खाद्य तथा गैरखाद्य सामग्रीको परिमाण तीन दिनभित्र पत्ता लगाउने पनि निर्णय भएको उनले बताए ।
बैठकमा जिल्ला व्यबस्थापन सञ्जालका सदस्य लगायत सुरक्षा निकाय, गैसस महासंघ, डिएलएसए, जनस्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, वन कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




