
घ्याच्चोकमा निशुल्क शिविर, १७५ जनाको भिडियो एक्सरे
गोरखाको अजिरकोट गाउँपालिका १ घ्याच्चोकमा निशुल्क स्त्रीरोग तथा जनरल स्वास्थ्य शिविर भएको छ । शुक्रवार र शनिवार भएको शिविरमा एकसय ७५ जनाले भिडियो एक्सरे सेवा लिएका छन् ।
गाउँमै निशुल्क एक्सरे सेवा पाएपछि स्थानीय निकै खुशी भएका थिए ।
चारजना महिलाले पाठेघरको उपचार सेवा पाएका छन् । पाठेघर खसेका बिरामीलाई रिङ प्रेसरी राखिएको छ भने एकसय दुई जनाले आँखा जाँच गराएका छन् । तीमध्ये १२ जनाको मोतियाबिन्दु पहिचान भएको छ ।
मुटु फाउण्डेशन काठमाण्डौँ र मनोज एसोसियसन, फ्रान्सको प्रायोजनमा भएको शिविरमा स्त्रीरोग विशेषज्ञ दिलिसा तिमल्सिना, डाक्टर अमिर गुरुङ लगायतले स्वास्थ्य जाँच गराएका थिए ।
शिविर सनबहादुर तामाङको अध्यक्षतामा सुरु भएको थियो । दुर्गम गाउँमा विशेषज्ञ सेवा निशुल्क पाएपछि स्थानीय खुसी भएको मुटु फाउण्डेशनका धनबहादुर गुरुङले बताए ।




