| आइतवार, कार्तिक २९, २०८३

रवि लामिछानेले तिरे सरकारलाई लाखौँ दस्तुर

रवि लामिछानेले तिरे सरकारलाई लाखौँ दस्तुर

नागरिकताको विषयमा विवादित बनेका टेलिभिजनकर्मी रवि लामिछानेले २ लाख ५८ हजार ५ सय रुपैयाँ दस्तुर बुझाएर अमेरिकी नागरिकता त्यागको प्रक्रिया सुरू गरेका छन्।

उनले असार ६ गते काठमाडौंस्थित अमेरिकी दूतावासमा उक्त परिमाणको रकम बुझाई नागरिकता त्यागेको विवरण प्रेस काउन्सिललार्इ बुझाएका हुन्।

‘२०७५ असार ६ गते लामिछानेले आफूले अमेरिकी दूतावासमा २,५८५०० रूपैयाँ दस्तुर बुझाई अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको जानकारी गराउँदै अध्यागमन विभागमा निवेदन दिनुभएको छ’, प्रेस काउन्सिलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।

लामिछाने काठमाडौंस्थित एक स्याटेलाइट टेलिभिजन च्यानलमा कार्यक्रम सञ्चालकको रुपमा काम गर्दै आएका छन्। नेपालमै रहेर सञ्चार कर्म गर्ने रुचिलाई कदर गर्दै काउन्सिलले कानुनको अधिनमा रहेर काम गर्न लामिछानेलाई स्मरण गराएको छ।

प्रेस काउन्सिलकाे विज्ञप्ति

प्रेस काउन्सिलकाे विज्ञप्ति

अमेरिकी नागरिकता त्यागेकाे बताइए पनि उनले नेपाली नागरिकता लिइ नसकेकाे जानकारी गृह मन्त्रालयले दिएकाे छ। गृह मन्त्रालय अन्तर्गतकाे नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका अधिकृत कल्पलता निराैलाले लामिछानेका नाउँमा बिहीबारसम्म नेपाली नागरिकता जारी नभएकाे बताए।

नेपाली नागरिकता लिन चाहने विदेशी नागरिकले अाफ्नाे देशकाे कान्सुलरमार्फत नागरिकता त्याग तथा नयाँ प्राप्तिकाे प्रक्रिया अघि बढाउनुपर्छ। साेही व्यवस्था बमाेजिम अमेरिकी दूतावासमार्फत उनले बुधबार निवेदन दिएकाे भए त्याे प्रक्रिया नेपालीस्थित काउन्सुलर कार्यालय हुँदै गृह मन्त्रालय पुगेपछि मात्र साे सम्बन्धमा निर्णय हुनेछ।

‘प्रक्रिया पुगेर हामीसम्म अाइपुगेकाे निवेदनमाथि पनि अावश्यक अनुसन्धान र छलफल हुन्छ’, अधिकृत निराैलाले भने, ‘विदेशी नागरिककाे हकमा अावेदककाे पृष्ठभूमि र अरू अनुसन्धानपछि मात्र नागरिकता निर्णय हुनेगर्छ।’

प्रतिक्रिया दिनुहोस्