
पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिक बनाउँदै
राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको हालसम्मकै अग्लो कदको शालिक बैतडीमा बन्ने भएको छ। बैतडीको दशरथ चन्द नगरपालिकामा उक्त शालिक बन्न लागेको आइतबार जानकारी दिइयो ।
दशरथ चन्द नगरपालिकाले उपलब्ध गराएको करिब ७ रोपनी जग्गामा राष्ट्रियता संरक्षण अभियानले २१ फिट अग्लो सो शालिक बनाउन लागेको होे।
आइतबार राजधानीमा मिडिया नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १० वर्षे जनयुद्ध र त्यसपछिका परिवर्तन पश्चात् राजसंस्थासँग सम्बन्धित कुनै पनि विषयलाई ओझेलमा पार्न संगठित रुपमा कार्यहरु हुँदै आएको बताए । उनले यसै क्रममा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको विशाल कदको प्रतिमा स्थापना गर्ने जमर्को गरेकोमा राष्ट्रियता संरक्षण अभियान, बैतडीलाई शुभकामना समेत दिए ।
साथै राप्रपाले पार्टीको आदर्शको रुपमा ग्रहण गरेका पृथ्वी नारायण शाहको शालिक निर्माणमा सक्दो सहयोग पुर्याउने तथा सहयोगको लागि अपिल गर्ने समेत अध्यक्ष थापाले बताए । भौगोलिक रुपमा नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाह र भावनात्मक रुपमा एकीकरण गर्ने श्री ५ महेन्द्रलाई नेपाली जनताले कहिल्यै भुल्न नसक्ने उनको भनाइ थियो ।




