
अब तीन महिनासम्म नदीजन्य पदार्थ उत्खनन बन्द, कसैले झिके सिधै कारबाही !
दरौँदी ः नेपाल सरकारको निति अनुसार आज (शुक्रबार) बाट नदि तथा खाटबाट नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने उल्लेख छ ।
जिल्ला समन्वय समितिले जिल्लाको २४ वटा घाटमा लगाएको ठेक्का मध्ये १७ वटामा ठेक्का लागेको थियो । यी सबैले असार १ गतेबाट नदीजन्य पदार्थ झिक्न, ओसार पोसार गर्न नपाउने भएका हुन् ।
‘आजबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने, ओसारपोसार गर्ने काम गर्न बन्द हुन्छ’ जिल्ला समन्व्य समितिका राजस्व तथा जिन्सी शाखाका रामप्रसाद पोखरेलले भने ‘यदि कसैले नियम विपरित खोला, घाटमा नदिजन्य पदार्थ झिक्छ भने जिल्ला अनुगमन समितिले कारबाही गर्ने प्रावधान छ ।’ वातावरण अध्ययन परिक्षण प्रतिवेदन अनुसार नेपाल सरकारले असार १ गते देखि असोज १ गते सम्म खोला घाट उत्खनन्मा पूर्ण बन्द गर्ने गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नियम विपरित काम गर्नेलाई कारबाही गरिछाड्ने बताए । ‘अब नदीजन्य पदार्थ झिक्ने समय सकियो’ उनले भने ‘यदि कसैले जबरजस्ती नदीजन्य पदार्थ झिक्छ भने त्यसको अबस्था हेरेर जरिवाना हुन्छ ।जरिवानालाई पनि अटेर गरे कानुन बमोजिम कारबाही गर्छाैँ ।’ जिल्लामा ठेक्का लागेका १७ वटै घाटका ठेकेदारहरुले घाटगद्धि नगरी नदिजन्य पदार्थ उठाउँदा जिल्ला अनुगमन समिति, जिल्ला समन्वय समिति र स्थानीय तहका जनप्रतिनिधीहरु मौन देखिए ।
सकियो आइइको अबधी
२०७२ चैतमा बनेको वातावरण अध्यन परिक्षण प्रतिबेदनको अबधी असार मसान्त सम्म भएपनि अबको तीन महिना नदिजन्य पदार्थ झिक्न नपाउने भएपछि त्यसको पनि म्याद सकिएको छ । दुई आर्थिक वर्षको लागि जिल्लाको विभिन्न नदि तथा घाटको उत्खननको लागि गरिएको अध्ययनको म्याद सकिएको हो । अब जिल्लाको सबै स्थानीय तहले नयाँ कन्सल्टेण्ट लिएर प्रतिबेदन तयार पारेपछि मात्रै खोला, घाट उत्खनन् गर्न पाइनेछ ।
२०७२ चैतमा अध्ययन गरेको प्रतिबेदन २०७३ असारमा स्वीकृती भएको थियो । जिल्ला समन्वय समितिका अनुसार अहिले सम्म वातावरण प्रभाव मूल्याङ्कन का लागि विज्ञ आवश्यक परेको भन्दै शहिद लखन गाउँपालिकाले भने सूचना जारी गरिसकेको छ । अन्य स्थानीय तह भने अझै अल्मलमै छन् ।




