
२-३ दिनभित्रै सुरु हुँदैछ मनसुन
मुलुक मनसुनको संघारमा पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत वर्षभन्दा यस वर्ष मनसुन केही दिन छिटो गरी सुरु हुन लागेको छ।
अघिल्ला वर्षको तुलनामा यस वर्षको मनसुन २–३ दिनअघि नै सुरु हुन लागेको महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए। नेपालमा मनसुन सामान्यतयाः जेठ अन्तिम साता सुरु भई असोज पहिलो साता मनसुन सकिने गर्छ।
‘मनसुन सुरु हुन आवश्यक पर्ने सबै पक्ष अनुकूल हुँदै गएका छन्,’ रिमालले भने, ‘अबको केही दिनमै मनसुन सुरु हुन्छ।’ २०६५ देखि नेपालमा हरेक वर्ष ढिलो गरी मनसुन सुरु हँदै आएको थियो। तर यस वर्ष भने विगत भन्दा केही दिन अघि नै मनसुन सुरु हुन लागेको हो। रिमालले सामान्यतया नेपालमा मनसुन जेठ अन्तिम साता प्रवेश गर्ने भए पनि कुनै कुनै वर्ष छिटो कुनै वर्ष ढिलो हुने गरेको बताए।
भारतको केरला, म्यानमार, बंगलादेश, आसाम, मेघालय दार्जिलिङ हुँदै मनसुन नेपाल भित्रिने गरेको छ। भारतको केरलामा २९ मे (१५ जेठ) मै मनसुन सुरु भइसकेको छ। सामान्यतया भारतमा मनसुन सुरु भएको एक सातापछि नेपालमा मनसुन प्रवेश गर्छ ।
यस वर्ष चाँडै जलवाष्पयुक्त हावा चल्न सुरु गरेकाले छिट्टै मनसुन सक्रिय हुने अबस्था देखिएको मौसमविद रिमालले बताए। नेपालमा हुने कूल वर्षाको ८० प्रतिशत वर्षा मनसुनको चार महिनाको अबधिमा हुन्छ।
यस वर्ष प्रि–मनसुनमा पनि नेपालमा पर्याप्त वर्षा भएको छ। विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ। यस वर्ष प्रि मनसुनको बेला राम्रो वर्षा भएकाले मनसुनमा पनि राम्रो पानी पर्ने आशा गरिएको छ।
विगतका वर्षमा सामान्यतया प्रि-मनसुनको बेला नेपालमा २५ मिलिमिटर वर्षा हुने गर्थ्यो। तर, यस वर्ष १ सय २५ मिलिमिटर वर्षा भइसकेको छ।
समयमै पानी परेकाले यस वर्ष कृषि उत्पादन वढ्ने आशा किसानहरुले गरेका छन्। अहिले भईरहेको वर्षाले मकै, धन, उखु, तरकारी, फलफूल लगायतका बालीलाई राम्रो फाइदा गर्ने कृषिविदहरु बताउँछन्।




