
अजिरकोट गाउँपालिकाले बनायो बजेट तर्जुमाको कार्ययोजना
दरौंदी ः अजिरकोट गाउँपालिका ले आगामी आर्थिकको बार्षिक नीति तथा कार्यक्रमबारे छलफल गरी बजेट तर्जुमा सम्बन्धि कार्ययोजना तयार पारेको छ । गाउँपालिकाको कार्यपालिकाले बिहिबार बसेको २१औं बैठकबाट योजना तर्जुमा सम्बन्धि कार्ययोजना तयार पारेको हो ।
२०७५ साल असार ४ गते गाउँ सभामा गाउँपालिका अध्यक्षबाट बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र मिति असार १० गते उपाध्यक्षबाट गाउँ सभाको बैठकमा बजेट प्रस्तुत हुने गरी बजेट तर्जुमा सम्बन्धी कार्ययोजना पारित भएको अजिरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए । गाउँ कार्यपालिकाका अध्यक्ष फणिन्द्रप्रसाद धितालको अध्यक्षतामा भएको उक्त बैठकमा गाउँपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बैठकमा गाउँ कार्यपालिका का अध्यक्ष घितालले कार्ययोजनाले तोकेको अबधि भित्र कार्यपालिका का सबै सदस्यहरुलाई जनताको हक अधिकारलाई सम्मान गर्दै बजेट तर्जुमा गर्न निर्देशन दिएका थिए ।




