
बूढीगण्डकी आयोजनाबाट विस्थापित हुनेहरुको पूर्नस्थापना अन्यौलमा
दराैँदी समाचारदाताः मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगिसक्दा पनि पुनस्र्थापनाको काम भने सुरु हुनै सकेको छैन ।
डुवान क्षेत्रमा पर्ने घरहरुलाइ पुनस्र्थापना गर्नको लागि भनेर विस्तृत परियोजना रिपोर्ट (डिपिआर) मै ४४ स्थान छनौट गरिएको थियो ।
मुआब्जा वितरण सँगसँगै ३ हजार ५ सय ६० घरधुरीको लागि पुनस्थापनको काम पनि अघि बढ्ने बताइएपनि मुआब्जा वितरणको काम अन्तिम भइसक्दा समेत पुनस्थापना गर्ने क्षेत्रहरुको जग्गा अधिग्रहणको लागि कुनै प्रक्रिया नै सुरु भएको छैन ।
नेपाल सरकारले पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको जलाशययुक्त बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने मोडालिटी आगामी आर्थिक वर्षमा टुङ्ग्याउने बताइरहँदा पुनस्थापनाको काम नै सुरु नहुनुले झनै अन्यौलता बढाएको स्थानीय एवं बुढीगण्डकी सरोकार समितिका पदाधिकारीहरु बताउँछन् । बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिका अध्यक्ष हरेराम ढकालले भने, ‘बुढीगण्डकी सरकारको प्राथमिकतामै परेको छैन, राष्ट्रिय गौरवको आयोजना भन्ने अनि बजेट हरेक वर्ष घटाउँदै पठाउने गरेको छ ।
सरकारले सूचीकृत गरेको गेमचेन्जर आयोजनाको सुचीमा पनि बुढीगण्डकी अटाएको छैन ।’
‘रिङरोड छेउछाउमा पुनर्वास र पुनस्थापना भनिएको छ,’ ढकालले भने, ‘अहिलेसम्म रिङरोडको छेउटुप्पै कता कता हो केही थाहा छैन अनि जनताले आयोजनाको काम अड्काए भन्न मिल्छ ?’




