
सिआरएस र स्वाँरा सघनद्वारा ३० स्थानमा हात धुने प्रविधि जडान
दराैँदी समाचारदाताः अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सिआरएस र स्वाँरा सघन गाउँ बिकास केन्दले गोरखाको बिभिन्न ३० स्थानमा हात धुने ठाउँ ब्यवस्थापन गरेको छ । कोरोना भाईरसको त्रास बढ्दै गएकाले जोखिम न्यूनिकरणका लागि कोरोना भाईरस प्रतिकार्य कार्यक्रम अन्र्तगत मानिसको चाप धेरै हुने ठाउँमा हात धुने ब्यवस्था गरिएको स्वाँरा सघन गाउँ बिकास केन्दका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले बताए ।
‘कोरोनाबाट बच्न पटक पटक हात धुने, सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ’ उनले भने ‘सेवाग्राही धेरै हुने कार्यालयहरुमा हात धुने ब्यवस्था गरेका छौँ ।’ वडा कार्यालय, पालिकाको कार्यालय, स्वास्थ्य संस्थालाई प्राथमिकता दिइएको छ । शहिदलखन गाउँपालिकाको ११ स्थानमा, गोरखा नगरपालिकाको १० र आरुघाट गाउँपालिकाको नौ ठाउँमा हात धुने प्रविधि जडान गरिएको छ ।
वडा कार्यालय, सरकारी अड्डा लगायतका ठाउँमा ट्याङ्कीमा पानी र हात धुने डिटोल(साबुन)को ब्यवस्था गरिएको निर्देशक श्रेष्ठले बताए ।
बिहिवार जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय र भेटेरिनरी अस्पतालमा हात धुने ब्यवस्था गरिएको छ । ‘हातले पानीको धारा खोल्दा, साबुन लगाउँदा एकअर्काले छुने हुँदा खुट्टाको सहायताले पानी खोल्न, साबुन लगाउन मिल्ने गरी ब्यवस्था गरेका छौँ’ उनले भने । बिभिन्न ३० ठाउँमा थप माग भएको स्वाँरा सघन गाउँ बिकास केन्द्रले जनाएको छ ।
कोरोना भाईरस प्रतिकार्य कार्यक्रम अन्र्तगत आठ सय देखि एक हजार घरधुरीसम्मलाई खाद्यान्न बितरण गर्ने योजना स्वाँरा सघनको रहेको आवास संयोजक रबिन कट्टेलले बताए । ‘साबुन, रुमाल, मञ्जन लगायत बिभिन्न १५,१६ थरी सरसफाईको सामग्री रहेको झोला पनि हामीले क्वारेन्टिनहरुमा बितरण गर्दैछौँ’ उनले भने । शहिदलखन र आरुघाट गाउँपालिकाका क्वारेन्टिनहरुमा ती सामग्री बितरण हुनेछ । खाद्यान्न बितरणका लागि बोलपत्र आह्वान गरिसकिएको र केहीदिन भित्र बितरण गर्ने योजना रहेको उनले बताए ।
यस्तै केयर नेपालको सहयोगमा स्वाँरा सघन गाउँ बिकास केन्द्रले सिरानचोक गाउँपालिकाका बिभिन्न चार ठाउँमा हात धुने ब्यवस्था मिलाएको छ । डूम राख्ने फलामे स्ट्याण्ड, दुई सयदेखि पाँचसय लिटर क्षमताको डूम, साबुनको ब्यवस्था गरिएको छ । विद्यालय, वडा कार्यालय लगायत बिभिन्न ठाउँमा माग अनुसार थप्दै जाने योजना रहेको स्वाँरा सघनका आबास संयोजक कट्टेलले बताए ।
केयर नेपालको सहयोगमा चमनुब्री, धार्चे, अजिरकोट, गण्डकी र शहिदलखन गाउँपालिकाका केही स्थानमा समेत हात धुने ठाउँको ब्यवस्थापन गर्ने योजना रहेको स्वाँरा सघन गाउँ बिकास केन्द्रले जनाएको छ । ३० हजार छ सय ५० रुपैयाँको लागतमा तयार हुने भएपनि दुर्गम ठाउँमा ढुवानी खर्चले लागत बढी लागेको छ ।




