
जनजीविकासँग जोडिएका विषयमा जसपाद्वारा गाउँपालिकाको ध्यानाकर्षण
दराैँदी समाचारदाताः गोरखाको भीमसेन थापा गाउँपालिकालाई जनजीविकासँग जोडिएका विषयमा विषेश जोड दिन माग गर्दै जनता समाजवादी पार्टीले मंगलवार ध्यानाकर्षण गराएको छ । सो पार्टीका भीमसेन थापा गाउँपालिकाका अध्यक्ष रोहित पाण्डेले बिभिन्न २० बुँदे मागसहित गाउँपालिका अध्यक्ष इश्वर पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
मनसुनका कारण गाउँपालिकाभित्र जोखिममा परेका घर टहरा, गोठ कुलो नहरको तथ्याङ्क संकलन गरी तुरुन्त क्षतिपूर्ति दिनुपर्ने, कोरोना संक्रमितलाई दिईने राहत रकम तुरुन्त दिनुपर्ने, रोकथाममा ध्यान दिन जसपाले अनुरोध गरेको छ । क्वारेन्टिन रहेका विद्यालय खालि गरी संचालन गर्न, गतवर्ष कार्यान्वयन भएका बजेटको आठ वटै वडामा सार्वजनिक सुनुवाई भदौ मसान्तभित्र गर्न, चालु वर्षको बजेट असोज महिनाबाटै कार्यन्वयन गर्न माग गरेको छ ।
दुई लाख भन्दामाथिको योजना संचालन गर्दा अनिवार्य होडिङ बोर्ड राख्न, हप्ताको एक दिन हाटबजार सञ्चालन गर्न, एकीकृत नमुना बस्तीको काम छिटो सक्न माग गरिएको जसपा पार्टीका गाउँपालिका अध्यक्ष रोहित पाण्डेले बताए । निर्माण गर्ने भनिएको १५ शैयाको अस्पताल तुरुन्त निर्माण गर्नुपर्ने, मध्यपहाडी लोकमार्गका कारण जोखिममा गुजारा गरेकाहरुको ब्यवस्थापन छिटो गर्नुपर्ने, दिर्घरोगी, असहाय वृद्धवृद्धालाई निशुल्क औषधीको ब्यवस्था गर्नुपर्नेमा समाजवादी पार्टीले जोड दिएको छ ।
वर्षौदेखि निर्माणको जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई कारवाहीको माग गरिएको छ । राजनीतिक दल र वडासँग नियमित परामर्श गर्ने ब्यवस्था गर्नुपर्ने, भीमसेन स्मारक पर्यटन स्थल टूस्टको नाममा जग्गा ल्याएर निर्माण छिटो सुरु गर्न समाजवादी पार्टीले गाउँपालिकाको ध्यानकर्षण गराएको जसपा गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।




