
महिला उद्यमीहरुलाई लेखा तालिम प्रदान
आषिश कुमार भट्टः गोरखा सदरमुकामका महिला उद्यमीहरुलाई लेखा तालिम प्रदान गरिएको छ । गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले स्थानीय महिला उद्यमीहरुलाइ एक दिने लेखा तालिम दिएको हो ।
गोरखा उद्योग वाणिज्य संघको सभा हलमा भएको उक्त तालिममा सुरेन्द्र पौडेलले लेखा सम्बन्धी तालिम दिएका थिए । ‘बिभिन्न पेशा व्यवसाय गरिरहनु भएका सदरमुकामका १५ जना महिलाहरुलाई लेखासम्बन्धी तालिम दिएका हौं’, समितिकी अध्यक्ष रीता रेग्मीले भनिन्, ‘आफ्नो व्यवसायमा हुने गरेको हिसाब किताब व्यवस्थापन गर्न सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।’
तालिमले उनीहरुको पेशा, व्यवसाय सञ्चालनमा सहजता प्रदान गर्ने विश्वास उनले व्यक्त गरिन् । महिला उद्यमी विकास समितिकी अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा उद्योग वाण्ज्यि संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ र निवर्तमान अध्यक्ष श्रवणकुमार जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
२० जनाका लागि तालिम सञ्चालन गर्ने योजना भए पनि कोभिड-१९ का कारण जम्मा १५ जनालाई मात्र तालिम दिएको उनले बताइन् ।




