
लकडाउनका कारण संकटमा परेकाहरुलाई बैदेशिक रोजगारीमा रहेकाहरुको सहयोग
दराैँदी समाचारदाताः कोभिड १९ को प्रभावका कारण लकडाउन हुँदा दैनिक गुजारा चलाउन समस्या परेकाहरुलाई बैदेशिक रोजगारीमा रहेकाहरुले खाद्यान्न सहयोग गरेका छन् ।
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ का एक सय ३१ जनालाई तीन लाख १८ हजार रुपैयाँ बरावरको सामग्री सहयोग गरिएको हो ।
जापान, अष्टे्रलिया, युके लगायत देशमा रोजगारीका लागि गएका गण्डकी गाउँपालिका ५ का ब्यक्तिहरुले संकलन गरेको सहयोग रकमबाट २० केजीको एक बोरा चामल, तीन लिटर तेल, दुई पोका नुन, तीन केजी दाल र एकेक वटाका दरले साबुन बितरण गरिएको वडा नम्बर ५ का कार्यालय सहायक राजन घिमिरेले बताए । बिराटबाबु खनालको संयोजकत्वमा वडा कार्यालयको अगुवाईमा उक्त रकम संकलन गरिएको हो ।
आईतवार दर्बुङ फाँटमा रहेको बूढीगण्डकी महिला भबनमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष जसबहादुर थापाको अध्यक्षतामा र वडा सचिव टंक रानामगरको उपस्थितिमा राहत बितरण गरिएको हो ।
कार्यक्रममा टोल बिकास संस्था, जनप्रतिनिधि, लाभग्राहीको उपस्थिति रहेको थियो । बैदेशिक रोजगारीमा रहेकाहरुले राहत रकम वडा सचिवको बैंक खातामा पठाएपछि खाद्यान्न किनेर बितरण गरिएको कार्यालय सहायक घिमिरेले जानकारी दिए ।
आर्थिक रुपमा कमजोर, बिपन्न समुदायका मानिसहरु वडा कार्यालय, टोल बिकास संस्थाको सिफारिसमा छनौट गरिएको वडा कार्यालयले जनाएको छ ।




