
डेढ करोडमा खोर्ला र लप्सीबोटबाट माछाखोलासम्म घोडेटो निर्माण हुदै
दरौँदी समाचारदाताः माछाखोलाबाट लप्सीबोट र खोर्ला जाने दुईवटा घोडेटो बाटो निर्माण गरिएको छ । डिएफआईडिको पूर्णिमा प्रोजेक्ट अन्तर्गत डब्लुएफपीको सहयोगमा करिब सात किलोमिटर घोडेटो बाटो निर्माण गरिएको हो ।
‘धार्चे गाउँपालिका ३ खोर्लाबाट गाउँपालिकाको केन्द्र माछाखोला र वडा नं. ५ को लप्सीबोटबाट गाउँपालिकाको केन्द्र जोड्ने बाटो बनाउन सुरु गरिएको हो’, डब्लुएफपीका इञ्जिनियर सुरज कँडेलले भने, ‘लप्सीबोटसम्म चार किलोमिटरका लागि ७० लाख र खोर्लासम्मको ती किलोमिटरका लागि ७५ लाख रुपैयाँमा घोडेटो बाटो निर्माण गर्न लागिएको हो ।’ लप्सीबोटसम्मको बाटो १५ प्रतिशत र खोर्लासम्म २० प्रतिशत प्रगति भएको उनले बताए ।
यसअघि सो ठाउँमा अव्यवस्थित बाटो हुँदा पैदल यात्रु र भारीबोक्ने खच्चडलाई पनि हिडडुल गर्न समस्या हुने गरेको छ ।
लप्सीबोटदेखि माछाखोला झर्नेै बाटोमा भने सडक निर्माणको काम पनि भइरहेको छ । तर पैंदल यात्रुको सुविधाका लागि घोडेटो बाटो बनाइएको हो ।




