
उत्तरी गोरखामा इटलीबाट ल्याएको स्याउ
दरौँदी समाचारदाताः उत्तरी गोरखामा उन्नत जातको स्याउ खेती गर्न इटलीबाट तीन प्रजातिका बिरुवा ल्याइएको छ । उच्च घनत्व बगैँचाका लागि उपयुक्त हुने गोल्डेन डेलिसियस, फुजी र गाला प्रजातिका पाँच हजार आठसय ७० वटा बिरुवा ल्याइएको कृषि ज्ञान केन्द्र गोरखाकी प्रमुख मनिता थापाले जानकारी दिइन् ।
गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले तीनै प्रजातिका विरुवा चुमनुब्री र धार्चेका तीन कृषि फर्मका सञ्चालकलाई माछाखोलामा एक कार्यक्रममा हस्तान्तरण गरेका हुन् । मन्त्रालयको ७० प्रतिशत अनुदान र फर्मको ३० प्रतिशत लगानीमा विरुवा प्रदान गरिएको उनले बताइन् ।
‘चुमनुब्री गाउँपालिका ३ र ४ को आमोस बहुउद्देश्यीय कृषि फर्मका लागि तीनै प्रजातिका चारहजार तीनसय ७० ओटा वितरण गरियो’, कृषि ज्ञानकेन्द्रकी प्रमुख थापाले भनिन्, ‘सिङ्ला आधुनिक कृषि फर्म धार्चे ५ का लागि तीनै प्रजातिका सातसय ५० वटा र दिङ्ला कृषि तथा पशुपंछी फर्म धार्चे ३ दिङ्लाका लागि सातसय ५० वटा प्रदान गरिएको हो ।’ माछाखोलासम्मको ढुवानी खर्चसहित प्रति विरुवा एकहजार एकसय ४० रुपैयाँ लागत रहेको उनले बताइन् ।
उच्च घनत्वको प्रजाति भएकाले एक रोपनीमा एकसय ५० वटा विरुवा रोप्न सकिने र एकबर्षभित्रै उत्पादन दिने भएकाले यी प्रजातिका विरुवा लोकप्रिय रहेको उनले बताइन् ।
कार्यक्रममा गोल्डेन डेलिसियस प्रजातिका विरुवा एहजार ८० वटा, फुजी प्रजातिको एकहजार पाँचसय १० वटा र गाला प्रजातिको सबैभन्दा धेरै तीनहजार दुईसय ८० वटा विरुवा वितरण गरिएको थियो । यसअघि गाउँपालिकाको सहयोगमा ति ठाउँहरुमा स्याउ खेती गरिएको थियो । गत वर्षको कार्यक्रम सफल भएपछि यो वर्ष थप गरिएको हो ।
मन्त्रालयले गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा पनि यो कार्यक्रम लागु गरिएको छ ।




