
चेपाङ समुदायलाई खाद्यान्न राहत सहयोग प्रदान
लकडाउनका बेला खाद्यान्न अभाव भएका गोरखाका चेपाङ समुदायलाई हाम्रो सहारा नामक एक गैरसरकारी संस्थाले सहायता सामग्री प्रदान गरेको छ ।
गण्डकी गाउँपालिका वडा नं. ७ छतिवन गैराका ६० घर चेपाङ समुदायलाई बुधबार एक कार्यक्रमका बीच चामल, चिउरा, नून, तेल, साबुन लगायतका सामग्री प्रदान गरेको हो ।
हाम्रो सहारा फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठले गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना तथा वडा नं. ७ का अध्यक्ष तुलसी रेग्मीलाई सहायता सामग्री हस्तान्तरण गरेकी हुन् । सो सामग्री गाउँपालिकाका अध्यक्ष तथा वडा अध्यक्षले चेपाङ समुदायलाई हस्तान्तरण गरेका छन् ।
लकडाउनका बेला आर्थिक अबस्था कमजोर भएकालाई सबैतिर राहत वितरण भइरहेका बेला छतिवन गैराका सीमान्कृत चेपाङ समुदायले राहत नपाएको बारे दरौंदीडटकम समाचार प्रकाशन भएपछि खाद्यान्न सहयोग गरेको हाम्रो सहारा फाउण्डेशनकी अध्यक्ष श्रेष्ठले बताइन् ।





