
नदीजन्य सामग्री उत्खनन तथा क्रसर उद्योग सञ्चालनका लागि पनि अब बाटो खुल्ला
लकडाउनका कारण बन्द भएका गोरखाका क्रसर उद्योगहरु अब सञ्चालनका लागि बाटो खुल्ला भएको छ ।
शुक्रबार सम्पन्न जिल्लास्तरीय कमाण्डपोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोना भाइरसबाट उत्पन्न विपद व्यवस्थापन केन्द्रको संयुक्त बैठकले नदीजन्य सामग्री उत्खनन तथा प्रशोधनका लागि बाटो खुला गरेको हो ।
‘ढुंगा, गिटी, बालुवा लगायतका सामग्रीको उत्खनन, उत्पादन, संकलनका सम्बन्धमा प्रचलित कानून बमोजिम स्थानीय तहले व्यवस्थापन गर्ने निर्णय गरिएको छ’, निर्णय पुस्तिकामा लेखिएको छ, ‘जिल्ला अनुगमन समति तथा अन्य सरोकारवाला निकायहरुले उक्त कार्यको अनुगमन गर्ने व्यवस्था कायम गर्ने निर्णय गरिएको छ ।’
सोही बैठकले सबै स्थानीय तह, सुरक्षा निकाय, सम्बन्धित संस्थाले आवागमनलाई सहजीकरण गर्ने, सामाजिक दुरीलाई कायम गराउने, विद्युतीय माध्यमबाट भुक्तानी गर्ने, लेनदेन गर्दा खुद्रा पैसाको प्रयोगलाई कम हुने गरी व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।




