
पन्थेस्वाँरामा घरघरै धारा, स्थानीय खुसी
दरौँदी समाचारदाता ः गोरखा नगरपालिका वडा नम्बर ४ को पन्थेस्वाँराका ८३ घरधुरीमा घरघरै धारा जडान भएको छ । गाउँमा एउटै धाराबाट आलोपालो पानी पिउँदै आएका स्थानीयको घरघरमा पानी झरेपछि खुसी भएका छन् ।
तुलसी मेयर युनेस्को क्लव, गोरखा नगरपालिका र स्थानीयको श्रमदानमा संचालन भएको पन्थेस्वाँरा खानेपानी आयोजनाको मंगलवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका हुन् । निरन्तर धारामा पानी आउने हुँदा गोरखा बजारबाट पनि नजिक रहेको ठाउँ भएकाले तरकारी खेती गरेर पानीको सदुपयोग गर्न नगरप्रमुख पन्तले स्थानीयलाई सुझाब दिए । स्थानीयलाई पनि आफ्नो ठाउँको योजनाको अपनत्व आफैँ लिन र कुनै ठुलो समस्या परेमा नगरपालिकाको साथ लिन सुझाब दिए । भ्यू टावर, प्याराग्लाईडिङ, होमस्टे जस्ता पर्यटकिय पूर्वाधार निर्माण र ब्यवस्थापनमा पानी अत्यावस्यक हुने भएकाले पन्थेस्वाँराको बिकासले गती लिने विस्वास स्थानीयले लिएका छन् ।
गोनपा ४ का अध्यक्ष रामशरण अधिकारीले वडा भित्रका सबै नागरिकको घरघरमा पानी पु¥याउने योजनामा रहेको र अब अन्तिम चरणमा पुगेको बताए । वडा भित्रको सडक आयोजना पूर्वाधारका लागि पनि जोड दिएको उनले बताए । पन्थेस्वाँरा क्षेत्र पर्यटकिय स्थल भएकाले खानेपानी, बिजुली र सडकलाई प्राथमिकता दिएर पर्यटन प्रर्वद्धनमा वडाले जोड दिएको अध्यक्ष अधिकारीले बताए ।
क्लवको ३९ लाख ४१ हजार, १४ लाख ९६ हजार स्थानीयको श्रमदान र ८ लाख ५० हजार गोरखा नगरपालिकाको आर्थिक सहयोगमा उक्त आयोजना निर्माण पुरा भएको हो । ६२ लाख ८० हजार लागतमा निर्माण भएको उक्त योजना नौ महिनामा पुरा भएको तुलसी मेयर युनेस्को क्लवका इन्जिनियर चित्रबहादुर अधिकारीले बताए ।
उक्त आयोजना लिफ्टीङ खानेपानी आयोजना हो । मासिक तीन सय रुपैयाँ तिरेर स्थानीयले पानी प्रयोग गर्न पाउनेछन् । लिफ्टीङ खानेपानी आयोजना भएकाले मासिक शुल्क महँगो भएको इन्जिनियर अधिकारीले बताए । विद्युत नियमित प्रयोग गर्नुपर्ने, हेरालु राख्नुपर्दा नियमित खर्च धेरै हुने हुँदा मासिक शुल्क बढेको हो ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पन्त, वडा नम्बर ४ का अध्यक्ष रामशरण अधिकारी, तुलसीमेयर युनेस्को क्लवका अध्यक्ष धिरजबहादुर मास्के, सचिव कृष्णकुमार श्रेष्ठ, दातृ संस्था मग म्याग्डोनाल्डकी कार्यक्रम संयोजक गिता लिम्बु, खिलबहादुर कुँवर, विष्णुबहादुर कुँवर लगायतले धारणा राखेका थिए ।




