
सामागाउँको कक्यू छ्योलिङ गुम्बा क्षेत्रमा प्राचीन सम्पदायुक्त क्षेत्र स्थापनाको तयारी
सामागाउँस्थित कक्यू छ्योलिङ गुम्बा क्षेत्रलाई ‘प्राचीन सम्पदायुक्त बस्ती’ निर्माणका लागि पहल थालिएको छ । सामागाउँको प्राचीन संस्कार, कला, संस्कृति, भेषभुषा, रहनसहनको संरक्षण गर्न गुम्बा आसपासका करिब ६० घर समेटेर ‘प्राचीन सम्पदायुक्त बस्ती’ निर्माण गर्ने तयारी गरिएको स्थानीय लामा जिग्मेले जानकारी दिए ।
सो गुम्बा र आसपासको बस्तीले करिब ३६० रोपनी क्षेत्रफल चर्चेको छ । गुम्बाकै नाममा लालपूर्जा रहेको सो क्षेत्रलाई तारबार गरी प्राचीन सम्पदायुक्त बस्ती निर्माण गर्ने बारे हालै स्थानीय स्तरमा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्राचीन सम्पदायुक्त क्षेत्रमा सामागाउँमा प्रचलित प्राचीन सम्पदाहरु संकलन गर्ने, प्रदर्शनमा राखिने, सूचनाकेन्द्र, पुस्तकालय स्थापना गर्ने बारे भेलामा छलफल भएको भेलामा सहभागी भएर फर्केका मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।
सो भेलाले सामागाउँका मुख्य लामा जिग्मेको संयोजकत्वमा स्थानीय अगुवा समाजसेवीहरु सम्मिलित ब्यबस्थापन समिति बनाएको छ । समितिले सो क्षेत्रको सीमांकन, नक्शांकन गर्ने, डिपिआर तयार गर्ने र कार्यान्वयनतिर लाने लामाले बताए । ‘सो समितिले अब आवश्यक समयमा बिभिन्न पक्षको भेला आव्हान गर्ने, सरसहयोग जुटाउने, सीमाङ्कन गर्ने, नक्शाङकन गर्ने, डिपिआर तयार गर्ने गर्छ’, लामाले भने, ‘सो समिति, गाउँपालिका, एमक्याप, पुरातत्व बिभाग लगायतका सम्बन्धित निकायको पहलमा प्राचीन सम्पदायुक्त क्षेत्र बनाउन लागिएको हो ।’
मनास्लु क्षेत्रमा पर्यटकको आवागमन बढेपछि सामागाउँमा आरसिसी गरेका ठूलो होटल, लज तथा अन्य संरचना बन्न थालेको छ । आधुनिक डिजाइनका घर तथा होटल बन्न थालेपछि र पर्यटकसंगै पश्चिमा संस्कृति भित्रिएपछि प्राचीन सम्पदा लोप हुनसक्ने भन्दै गुम्बा क्षेत्रलाई सम्पदा क्षेत्र बनाउन लागिएको लामाले बताए । होटलले व्यवसायीलाई मात्र फाइदा पुग्ने तर यस्तो क्षेत्र बनायो भने गाउँलेलाई फाइदा पुग्ने स्थानीयबासीले अपेक्षा गरेका छन् ।




