
गोरखा समाज जापानद्वारा मृगौला पीडितलाई डेढलाख सहयोग प्रदान
भीमसेन गाउँपालिका ६ की मृगौला पीडित सीता लम्सालको उपचारका लागि जापानमा बस्ने नेपालीहरुबाट सङ्कलित सहयोग रकम हस्तान्तरण गरिएको छ ।
गोरखा समाज जापानले संकलन गरेको एकलाख ४८ हजार रुपैयाँ बिहिबार आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले पीडितको घरमै पुगेर उनका पति वुद्धिबहादुर लम्साललाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा गोरखा समाज जापानका सचिव बिराटबाबु खनाल , सीता बचाउ अभियानका संयोजक अम्बिका भन्तना, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायत सहभागी थिए ।
गत जेठ महिनादेखि दुवै मृगौलाले काम नगरपछि ६० बर्षकी लम्साल पोखराको फिस्टेल अस्पतालमा उपचाररत छिन् । आर्थिक अबस्था नाजुक भएको लम्साल परिबारको अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको र आर्थिक अभाव भएपछि पीडित परिबारले सहयोगको याचना गरेका छन् ।




