
संविधान अनुसार सेवा उपलब्ध गराउन ज्येष्ठ नागरिकको माग
बृद्धबृद्धाहरुलाई बोझको रुपमा नलिन गोरखाका ज्येष्ठ नागरिक सहित सामाजिक अगुवाहरुले आग्रह गरेका छन् । बृद्धावस्थामा उत्पादनको काम गर्न नसक्ने भएकाले ज्येष्ठ नागरिकलाई बोझको रुपमा लिने गरिएको उनीहरुको भनाई छ । २९ औं अन्तर्राष्टिूय ज्येष्ठ नागरिक दिवसका अवसरमा गोरखा सदरमुकाममा आयोजित कार्यक्रमका वक्ताहरुले सामाजिक उत्तरदायित्वकै कारणमात्रै वाध्य भएर ज्येष्ठ नागरिकको लालनपालन हुने गरेको बताएका छन् । त्यस्तो उत्तरदायित्व निर्वाह गर्ने क्रममा आर्थिक भार बढ्ने हुनाले कतिपयले ज्येष्ठ नागरिकलाई बोझको रुपमा लिने गरेको उनीहरुको भनाई छ । ज्येष्ठ नागरिकहरूको सुरक्षित र मर्यादित जीवनयापनको लागि आवश्यक सामाजिक सुरक्षाको प्रबन्ध उचितरूपमा हुन नसकेकोमा पनि उनीहरुले चिन्ता जनाएका छन् । बृद्धबृद्धाहरुको सामाजिक सुरक्षामा लगानी बढाउन पनि कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
गोरखा नगरपालीका र ज्येष्ठ नागरिक जिल्ला संघ गोरखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले अस्पताल, सार्वजनिक यातायात लगायत ठाउँमा प्राथमिकता र सहुलियत नपाएको गुनासो गरेका थिए । नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हक शीर्षकमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेर उल्लेख गरिएको छ । यसैगरी ज्येष्ठ नागरिकका हकहितको सुनिश्चितताको लागि विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज होस् भनेर ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ र नियमावली २०६४ पनि जारी गरिएको छ । तर संविधानको मौलिक हकमा लेखिएका कुरा प्राप्त गर्ने वाता वरण नबनेको कार्यक्रमका सहभागीहरुको भनाई छ । दिवसकै अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
कार्यक्रममा गोरखा नगरपालीकाको प्रत्येक वडाबाट एक महिला र एक पुरुष ज्येष्ठ नागरिक र ज्येष्ठ नागरिक मञ्चले छनौट गरेका सातजना गरी ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । उनीहरुलाई नगद सहित सम्मान गरिएको हो ।
ज्येष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल,जिल्ला समन्वय समितिका उप प्रमुख जनुका अधिकारी, नेपाल बार एसोसीयसनका अध्यक्ष यादव शर्मा, संघका उपाध्यक्ष दिलबहादुर बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई सरसफाई सामाग्री पनि वितरण गरिएको छ ।




