
मनास्लु कम्पनीको पानी गोरखा बजारसम्म आइपुगोस्
युवाहरुले चाहे धेरै ठूला काम गर्न सक्छन् । यसको नमूना चुमनुब्री गाउँपालिका वडा नं. ३, ५ र ६ का चार जना युवाहरुले प्रदर्शन गरेका छन् । ३० बर्षमुनिका यी युवाहरुले चुमनुब्री गाउँपालिका ३ फिलिममा मनास्लु डूप इन्डस्टिूज नामक प्रशोधित पानी उद्योग सञ्चालन गरेर उनीहरुको आयआर्जनको बाटो मात्र बनाएका छैनन्, गोरखाको शाख जोगाएका छन् ।
किनभने यहीँ तनहूँमा प्रशोधित पानी उद्योगहरु छन् । चितवन, लम्जुङ, धादिङ जहाँतहीँ प्रशोधित पानी उद्योग छ, हाम्रो गोरखामा नहुनु हाम्रा लागि कुरीकुरीको बिषय थियो । तर मनास्लु क्षेत्रका युवा उद्यमीहरुले यो कुरीकुरीको अबस्थाको अन्त्य गरेका छन् ।
देशमा स्वरोजगारका क्षेत्र धेरै छन् । युवाहरु स्वरोजगारीमुखी हुनुपर्छ, उनीहरुले कुनै न कुनै बिकल्प देखिहाल्छन् । जागिरे मानसिकता र परनिर्भरमुखी स्वभाव भएमा स्वरोजगारका अवसरहरु देख्दैनन् । कि देशमै जागिर खोज्छन्, नपाए विदेशिन्छन् । युवाहरुको प्राय स्वभाव चञ्चले हुनेगर्छ । छिट्टै हौसिने, छिट्टै सेलाउने । छिट्टै उद्योग फस्टाएन भन्ने सोचेर युवाहरु पछि हटे भने उनीहरुको व्यापारमा तुसारापात त हुने नै छ, ती युवाहरुप्रतिको आमको सद्भावमाथि पनि कुठाराघात हुनेछ ।त्यसैले ती युवाहरुको जोश, जाँगर अकण्टक रहिरहोस् । मनास्लु डूप इण्डस्टिूजको उत्पादन फिलिमबाट तल माछाखोला, सोती, आर्खेत, आरुघाट, गोरखा बजारसम्म पनि आइपुगोस् । शुभकामना




